२२ वैशाख २०८१, शनिवार

मट्टीतेल मिसावट डिजेलका ४ वटा ट्याङकर निगमको नियन्त्रणमा

१४ फागुन २०७९, आइतवार
Image

मेचीनगर, १४ फागुन । इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगुडी डिपोबाट झापाका लागि चार वटा ट्याङ्करमा ल्याइएको डिजेलमा मिसावट भएको पाइएको छ ।

यहि फागुन १० गते सिलगुडी डिपोबाट ४ वटा ट्याङकरमा २० हजार लिटरका दरले डिजेल लिएर झापा स्थित चारआली नेपाल आयल निगम लिमिटेडको शाखा कार्यालयमा आएको थियो ।

नवदुर्गा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१४९, माता पाथीभरा आयल स्टोर्सको नाममा रहेको मे.१ख २१५१, उत्तरगंगा यातायात प्रालिको नाममा रहेको ना.७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड टे«डर्सको नाममा रहेको ना.७ ख ६९७४ नम्बरको ट्याङकरमा आएको कुल ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको पाइएको हो । 

चारआली स्थित शाखा कार्यालयको पार्किङस्थलमा राखिएका ट्यांकरको प्रत्येक चेम्बरमा रहेको डिजेलको नमुना परीक्षण गर्दा घनत्व तोकिएको दरभन्दा धेरै अन्तरले फरक परेको कार्यालय प्रमुख भीम विकले बताए ।

त्यसपछि चारवटै ट्याङकरको ८० हजार लिटर तेलको गुणस्तरमा फरक परेको व्यहोरा केन्द्रीय कार्यालयमा जानकारी गराएको उनको भनाई छ ।

केन्द्रीय कार्यालयबाट उच्चस्तरीय टोली झापा आएको छ । प्रारम्भिक छानविनका लागि टोलीमा कमला न्यौपाने, शिवहरि आचार्य र विरेन्द्र मिश्र छन् ।

चारवटै ट्याङकरको तेल परिक्षणका लागि आजै काठमाडौँ पठाइने कार्यालय प्रमुख विकले जानकारी दिए । सबै ट्याङकरका चालक फरार रहेको पाइएको छ ।

मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइरालले आइओसीबाट ट्याङकरमा लक गरेर ल्याइएको तेल चारआली आयल निगममा आइपुग्दा खराव देखिएको उनले बताए । 

श्रोतका अनुसार चारवटै ट्याङकरमा आएको ८० हजार लिटर डिजेलमा मट्टीतेल मिसाइएको आशंका गरिएको छ ।