१६ चैत २०८०, शुक्रवार

मिसन ग्रासरुट

‘मिसन ग्रासरुट’ले सम्झायो अष्टलक्ष्मीका छोराछोरीकी ‘भूमिगत आमा’

१८ फागुन २०७९, बिहिवार
Image

झापा, १८ फागुन । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भूमिगत राजनीतिक जीवनको तीन दशक अघिका घटना सुनाउँदा झापाको मेचीनगर–११ की लता प्रसाईको आँखामा आँशु थामिएनन् । 

प्रसाई त्यस्तो ‘भूमिगत आमा’ हुनुहुन्थ्यो, जसले नेतृ शाक्य पञ्चायती शासनविरुद्ध भूमिगत राजनीतिक काममा हुँदा वर्षौसम्म उहाँकी छोरी आस्थालाई आफ्नै छोरीसरह पालनपोषण गरेर हुर्काउनु भएको थियो । 

केही दिन अघि शाक्य ‘मिसन ग्रासरुट’ अभियानको सन्दर्भमा तिनै ‘भूमिगत आमा’को घरमा आउनु भएको थियो । महिला कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा उहाँले २०४६ साल अघि प्रसाईको घरसँग जोगिएको भूमिगत राजनीतिको नाता भावुक हुँदै सुनाउनुभयो–“मैले काखकी छोरी आस्थालाई पालनपोषण गर्नेगरी यही घरमा छाडेर पार्टी काममा गएको थिएँ ।”

बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री शाक्य र एमाले नेता अमृतकुमार बोहोराबीच भूमिगत कालमै २०३७ सालमा विवाह भएको थियो । पञ्चायती निरंकुश शासनको चर्को दमनका बीच शाक्य धनकुटाको पिस्कर र झापामा तत्कालीन नेकपा मालेको संगठन विस्तार र आन्दोलनमा खटिनुभएको थियो ।

छोरी आस्था र छोरा विश्वासको जन्म भएपछि दुबै सन्तानलाई उहाँहरुले पार्टीका कार्यकर्ताको घरमा छाडेर भूमिगत राजनीतिमा सक्रिय हुनुपरेको थियो । यही क्रममा छोरी आस्था मेचीनगरका विष्णु प्रसाई र लता प्रसाईको घरमा हुर्किनुभयो भने छोरा विश्वास गौरादहको छविलाल श्रेष्ठको घरमा ।

बर्षौसम्म भूमिगत सेल्टरमा अरुकै परिवारमा बिताएका शाक्यका छोराछोरीले २०४६ सालको जनान्दोलनको सफलतापछि मात्र जन्मदाता आमाबुवासँग बस्न पाएका थिए । लामो अवधिपछि भेट्दा छोरीले आफुलाई आमा भनेर नचिनेर टाढिन खोजेको प्रसंग शाक्यले सुनाउँदा ‘भूमिगत आमा’ प्रसाईले आँशु लुकाउन सक्नु भएन ।

“मैले कहिले पनि आस्थालाई उनकी आमा जीवनमरणको भूमिगत राजनीतिक संघर्षमा होमिदै छोरीलाई अर्काको घरमा छाडेर गएकी छन् भनेर महसुस हुन दिइन,” प्रसाईले तीन दशक अघिका दिनहरु सम्झिदै भन्नुभयो–“आस्थाले मलाई वास्तविक आमा नै मान्थिन् । मेरो अर्की उस्तै उमेरकी छोरीलाई एउटा हातमा र आस्थालाई अर्को हातमा च्यापेर हुर्काएँ । २०४६ सालमा बहुदल स्थापनापछि अष्ट कमरेड छोरी लिन आउँदा आस्थाले मलाई वास्तविक आमा ठान्दै मसँगै बस्छु भनेर धेरै जिद्दी गरेकी थिइन् ।”

प्रसाईको घर एकान्त गाउँमा भए तापनि उहाँका पति विष्णु प्रसाई तत्कालीन नेकपा मालेको जिल्लाकै मुख्य नेता भएकाले प्रहरी प्रशासनको कर्के नजर परिरहन्थ्यो । पतिको राजनीतिक जीवन र शाक्यकी छोरीको भूमिगत बाल्यकाललाई सतर्कतापूर्वक जोगाउनु निकै कठिन थियो । 

भूमिगत नेताकी छोरी भनेर गाउँलेले समेत सुइँको नपाउने गरी प्रसाई परिवारले आस्थाको पालनपोषण राम्ररी गर्दै आउनु भएको थियो । “छिमेकीहरुले कसको नानी भनेर सोध्दा मेरी मितिनीको छोरी हुन्, गरीव भएर हुर्काउन नसकेकाले ल्याएर पालेकी छु भनिदिन्थे”–उहाँले भन्नुभयो ।

भूमिगत नेताका छोरीलाई प्रसाई परिवारले वर्षौसम्म ममतापूर्ण आश्रयसहित शिक्षादीक्षा समेत प्रदान गर्नुभएको थियो । बागमती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसाईका अनुसार उसबेला पार्टीको काम इमानदारी, गोपनीयता र बलिदानको भावनाले गरिन्थ्यो ।

“मैले मेरा र अष्ट कमरेडका छोरीहरुलाई एउटै विद्यालयमा पठनपाठन गराएको थिएँ, आस्थाले मलाई बुबा भनेर बोलाउने गर्थिन्,” प्रसाईले सुनाउनुभयो–“विद्यालयमा उनको बुवा बनेर थर पनि प्रसाई नै लेखिदिएको थिएँ । विद्यालयका शिक्षकहरुले छोरी भनेर मलाई अभिभावक ठानेका थिएँ ।”

नेकपा एमालेले फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको प्रदेश नं. १ को संयोजक बनेर आउनु भएको नेतृ शाक्यले आफुले भूमिगत सेल्टरका रुपमा प्रयोग गरेका घर र परिवारहरुसँग भेटघाट गरिरहनु भएको छ । यही क्रममा उहाँले आफ्ना छोराछोरीलाई पालनपोषणका लागि भूमिगत राखेको प्रसाई र श्रेष्ठ परिवारसँग भलाकुसारी गर्नुभएको हो ।

के हो ‘मिसन ग्रासरुट’ ?

नेकपा एमालेले फागुन ५ गते दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको घोषणा गरेको छ । सातै प्रदेशका ७७ जिल्ला र ७५३ पालिकामा पार्टी सुदृढीकरण तथा विस्तारका लागि अभियान सञ्चालन भइरहेको छ ।

“पछिल्ला दिनहरुमा पार्टीको काम भनेको चुनावदेखि चुनावसम्म मात्र जस्तो भइरहेको छ,” एमाले स्थायी कमिटी सदस्य शाक्य भन्नुहुन्छ–“लामो संघर्षको इतिहास बोकेको हाम्रो पार्टीमा सयौं भूमिगत सेल्टरदाता हुनुहुन्थ्यो । हिजो व्यक्तिगत सम्पत्ति, पद र प्रतिष्ठालाई तिलाञ्जलि दिएर देश, जनता र पार्टीका लागि बलिदान दिन तयार हुने कार्यकर्ताको हजारौं पङ्ति थियो । तर आज पार्टीभित्र स्वार्थी, लोभी र अराजकताबादीहरु हावी हुँदै गएका छन् । इमान्दार कार्यकर्ता र समर्थकहरु निराश बनिरहेका छन् ।”

पार्टी जीवनमा हुर्किरहेको यही विकृति र विसंगतिलाई चिरफार गरेर संगठनलाई पुनर्ताजगी गर्न पार्टीले गाउँ, टोल र कार्यकर्ताको घरसम्मै पुग्न ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

एमालेले सातै प्रदेश र पालिकाहरुमा केन्द्रीय तहका नेताहरुलाई ‘मिसन ग्रासरुट’ अभियानमा परिचालन गरेको छ । जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र टोलका संगठनहरुले यतिबेला योजनाबद्ध रुपमा पुराना कार्यकर्ता, पूर्वजनप्रतिनिधि र उपेक्षाबाट गुज्रिरहेका श्रमिक वर्गका समर्थकहरुको घर आँगनसम्म ‘मिसन ग्रासरुट’ अभियानका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

मुलुक बनाउन हिँडेका नेता कार्यकर्ताहरुमा असल संस्कार र उच्च नैतिकतायुक्त राजनीतिक भावना हुनुपर्ने बताउँदै उहाँले आफुले टिकट पाए चुनाव जित्छु भन्ने र अरुले टिकट पाए अन्तरघात गरेर हराउने तहसम्मको अराजकता पार्टीमा हावी भएको बताउनुभयो । पार्टीभित्रको संगठनात्मक पद्धति बलियो बनाउन, त्याग र संघर्ष गरेका कार्यकर्तासँगको सम्बन्ध आत्मीय बनाउन, सेवा र समर्पणको भावना विकास गराउन, नैतिक र राजनीतिक रुपमा कार्यकर्ता पङ्तिलाई इस्पातिलो बनाउन अभियानले मदत पुर्याउने अपेक्षा गरिएको उहाँको धारणा छ ।

एक लाख घरमा अभियान पुर्याइने

झापा जिल्लालाई नेकपा एमालेले आफ्नो उर्वर र प्रादुर्भावस्थलको रुपमा मान्दै आएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीदेखि धेरै शीर्ष तहका नेताहरु झापाकै राजनीतिक संघर्षका उपज हुनुहुन्छ ।

वि.सं. २०२८ देखि सुरु भएको झापा बिद्रोहको जगमा जन्मिएको नेकपा माले नै अहिलेको नेकपा एमाले हो । झापा विद्रोहको क्रममा इलामको सीमा सुखानीमा पार्टीका पाँच योद्धा रामनाथ दाहाल, वीरेन राजबंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा जंगलमा लगी पञ्चायती शासकले गोली हानी हत्या गरेका थिए । यिनै पाँच सहिदलाई एमाले कार्यकर्ताहरु कम्युनिस्ट आन्दोलनलाई आजको उचाइमा पुर्याउने प्रेरक ठान्दछन् । 

‘मिसन ग्रासरुट’ अभियानका क्रममा झापामा एक लाख साधारण सदस्य थप गरिने नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले बताउनुभयो ।

“झापा जिल्ला हाम्रो पार्टीको आधारभूमि भएकाले यहाँ हिजो जेलनेल भोगेका र कठिन दिनमा संघर्षमा साथ दिएका हजारौ पुराना कार्यकर्ता छन्,” झापामा ‘मिसन ग्रासरुट’ अभियानको लक्ष्य प्रष्ट्याउँदै भन्नुभयो–“एक लाख साधारण सदस्य थप गर्ने हाम्रो लक्ष्य छ । पार्टीलाई आजको दिनसम्म ल्याउन योगदान पुर्याउनुहुने सबै पुराना कार्यकर्ताको घर आँगनमा पुगेर पार्टीले उहाँहरुको दुःखसुखको अवस्था बुझ्ने काम गर्नेछ ।”

पार्टी काम गर्दा विभिन्न कमजोरी गरेर कार्वाहीको भागिदार भएका कार्यकर्तालाई समेत अभियानको क्रममा आत्मालोचित भएर सुध्रिने अवसर प्रदान गरिने उहाँले बताउनुभयो । 

झापाका १५ वटै पालिकामा रहेका एमालेका कार्यालयलाई डिजिटल प्रविधियुक्त बनाउने र पार्टीले सदस्यबाट उठाउने गरेको नियमित सहयोग (लेबी) अबदेखि बैंकिङ माध्यमबाट लिइने समेत नेकपा एमाले झापाको बैठकले निर्णय गरेको छ ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।