८ वैशाख २०८१, शनिवार

आजै ‘कोशी प्रदेश’ नामाकरण हुँदै

१७ फागुन २०७९, बुधवार
Image

विराटनगर, १७ फागुन । प्रदेश १ को नाम कोशी प्रदेश हुने भएको छ ।

आज प्रदेश संसद्को बैठकले नामको टुंगो लगाउँदैछ । नेपाली काग्रेस र नेकपा एमालेले संसद सचिवालयमा कोशी प्रदेश नाम प्रस्ताव दर्ता गराएको छ भने नेकपा माओबादी केन्द्रले कोशी नामाकरण प्रस्तावमा मतदान गर्ने स्पष्ट पारिसकेको छ ।

कांग्रेस, एमाले र माओबादीसँगै राप्रपा मिसिदा सहजै दुई तिहाई बहुमत पुग्छ । 

कोशी नामको प्रस्तावको प्रस्तावको प्रस्तावक एमालेका रामबहादुर मगर रहेका छन् भने समर्थकमा काँग्रेसका भूमिप्रसाद राजवंशी रहेका छन् । 

‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्नै दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाती, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपर्युक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको छ ।

तर, नेकपा एस र जसपाको तर्फबाट ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ । 

नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो ।

सात प्रदेशमध्ये प्रदेश नं. १ को मात्र नाम राख्न बाँकी छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सरकारका पालामा नामाकरण हुने भएकाले यसको ऐतिहासिक श्रेय कार्कीले पाउने छन् ।

आजै नामाकरण प्रस्ताव पारित गर्ने संसद्को कार्यसूची छ । विरोधमा कुनै अप्रिय घटना नहोस् भनेर विराटनगरमा कतिपय स्थानमा कफ्र्यू लगाइएको छ ।