२२ वैशाख २०८१, शनिवार

सकियो ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’

१८ फागुन २०७९, बिहिवार
Image

झापा, १८ फागुन । बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ आज एक कार्यक्रमको आयोजना गरेर सकिएको छ ।

गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापनमा राजनीतिक व्यक्तित्वहरु डिल्लीप्रसाद सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष बेदुप्रसाद अग्रवाल, व्यवसायीहरु भगवानदास सिंगल, हनुमान मित्तल, देवेन्द्र कुमार सिंह, प्रकाश गौतम, बीरवहादुर धमलालाई सम्मान गरिएको हो । 

त्यस्तै पत्रकार लक्ष्मी लुइँटेल, सेफ राज पौडेललाई समेत सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव आयोजक समितिका संयोजक राजु न्यौपानेले जानकारी दिनुभयो । 

सम्मानित व्यक्तित्वको परिचय र सम्मानपत्र वाचन सञ्चारकर्मी केशव भट्टराईले गर्नु भएको थियो ।

संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकले आर्थिक संकट खेपिरहेको अवस्थामा आर्थिक स्थिरताको खोजी जरूरी रहेको बताएका छन् । उनले  दलहरूबीच असहमति भएपनि आर्थिक धरातल बलियो बनाउन एक ठाउँमा उभिनुपर्ने धारणा राख्नु भयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले दिनदिनै उद्योग बन्द भइरहेको अवस्थामा नीजि क्षेत्रको प्रवद्र्धनका लागि समन्वयात्मक ढंगबाट काम गर्न आग्रह गर्नु भयो । 

महोत्सव समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, झापा उद्योग संघका अध्यक्ष याम श्रेष्ठ, बुधवारे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुनकुमार मैनाली र सञ्चारकर्मी लीला अनमोलले संयुक्त रुपमा गर्नु भएको थियो ।