२३ भदौ २०८१, आइतवार

काँकरभिट्टामा इण्डो–नेपाल भेट्रान फुटबल हुने

२४ फागुन २०७९, बुधवार
Image

मेचीनगर, २४ फागुन । शनिबारदेखि काँकरभिट्टामा हुने सेभेन हर्सेस इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा नेपाल र भारतका चर्चित पूर्व राष्ट्रिय खेलाडीहरु मैदानमा उत्रिने भएका छन् । 

यही फागुन २७ देखि चैत ६ गतेसम्म काँकरभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गर्न लागेको इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा नेपाल र भारतका चर्चित पूर्व राष्ट्रिय खेलाडीहरु खेल्ने भएका हुन् ।

क्लबले बुधबार पत्रकार सम्मेलन गरेर तेस्रो संस्करणका विषयमा जानकारी गराएको छ । नेपालका चर्चित पूर्व राष्ट्रिय खेलाडीहरु सञ्जीव बुढाथोकी, विष्णु सुनुवार, राजकुमार घिसिङ लगायतका खेलाडीहरु खेल्ने भएका छन् । 

यता भारतका पूर्व राष्ट्रिय खेलाडीहरु राजन गोले, शरद तामाङ, रमेश राई लगायत मोहन वगान, कोलकाताबाट खेल्ने पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष गंगालाल गुरुङले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा भारतका ४ सहित १० वटा टिमको सहभागिता रहने जनाएको छ । प्रतियोगितामा झापाको २ वटा टिम, सुनसरी, मोरङ, बुटवल, काठमाडौं तथा भारतको दार्जिलिङ, सिलिगुडी, कोलकाता र आसाम भेट्रान क्लब सहभागी हुने छन् । 

क्लबले यसअघि २०७२ र २०७४ मा प्रतियोगिता आयोजना गरेको थियो । तेस्रो संस्करणको प्रतियोगिता कोभिड–१९ का कारण ढिला भएको आयोजक अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बिर्तामोड स्थित किङ्गसबेरी होटलको सेभेन हर्सेस क्यासिनो रहेको छ । सहआयोजकमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । 

प्रतियोगिताको प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कारको राशी १ लाख रहेको छ । प्रथम पुरस्कार मुख्य प्रायोजक र दोस्रो पुरस्कार काँकरभिट्टाका उद्यमी एवम् समाजसेवी सजित तामाङले प्रदान गर्ने भएको आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलनमा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले (मामा), क्लबका सल्लाहकार झापा जिल्ला खेलकुद विकास समिति पुर्व अध्यक्ष शंकर थापा, उपाध्यक्ष राजु पौडेल लगायतले धारणा राख्नु भएको थियो ।

क्लबका अध्यक्ष गंगालाल गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव शेरबहादुर बस्नेत (सुन्दर)ले गर्नु भएको थियो ।