१२ साउन २०८१, शनिवार

शिवसताक्षीमा फोहोर जलाउने महँगो इन्सिनेरेटर सञ्चालन

२६ फागुन २०७९, शुक्रवार
Image

झापा, २६ फागुन । झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहोर जलाएर नष्ट गर्ने अत्याधुनिक इन्सिनेरेटर मेसिन सञ्चालनमा ल्याएको छ ।

नगरको वडा नंं ७ मा दुई बिगाहा १८ कठ्ठा जग्गामा निर्माण गरिएको फोहोर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटर मेसिनको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताउनुभयो ।

प्रति घण्टा ३०० केजी फोहोर जलाएर नष्ट गर्न सक्ने क्षमताको सो मेसिन दुई वर्ष अघि नै खरिद गरेर नगरपालिका कार्यालय परिसरमा राखिएको थियो । मेसिनले फलामबाहेक प्लास्टिकजन्य फोहोरलाई सुरक्षित रुपमा च्याम्बरभित्र जलाएर क्षणभरमै खरानीमा परिणत गरिदिन्छ ।

इन्सिनेरेटर मेसिन खरिदमा रु. एक करोड र व्यवस्थापन केन्द्र निर्माणमा रु. दुई करोड खर्च भइसकेको जनाउँदै यस परियोजनाको सम्पूर्ण संरचना निर्माण गर्न रु. १२ करोड लगानी हुने नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो ।

फोहोर छुट्याउने चेम्बर, गाडी पार्किङ लगायतका निर्माण गरेर एक महिनापछि फोहोर व्यवस्थापन केन्द्र नियमित सञ्चालनमा ल्याइने नगरप्रमुख थोप्राले बताउनुभयो । फोहोर व्यवस्थापन केन्द्रभित्र आकर्षक बगैंचा बनाउने नगरको योजना छ ।

झापामा १५ पालिकामध्ये इन्सिेनेरेटर मेसिन भित्राउने शिवसताक्षी पहिलो पालिका हो ।  फोहोर प्रशोधन केन्द्र सञ्चालनपछि नगरको फोहोर व्यवस्थानमा सहज हुने उहाँले बताउनुभयो । 

फोहोर प्रशोधन केन्द्रको व्यवस्थापनमा लाग्ने इन्धन, कर्मचारी, गाडी व्यवस्थापनका लागि स्रोत जुटाउन नगरपालिकाले फोहोर उत्पादन हुने प्रकृति हेरी नगरबासीसँग न्यूनतम् शुल्क असुली गर्ने जनाएको छ । घर, पसल र बजारबाट संकलन गरिएको फोहोरलाई प्रशोधन केन्द्रसम्म ल्याउन खर्च लाग्ने हुँदा न्यूनतम शुल्क लिने निर्णय गरिएको नगरप्रमुख थोप्राले बताउनुभयो ।

इन्सिनेरेटर मेसिन सञ्चालन गर्न विद्युत र डिजेल इन्धनको जरुरी हुन्छ । प्रति केजी फोहोर जलाउन औसत रु. १२ सम्म लागत पर्ने हुँदा यसको प्रयोग महँगो हुने देखिएको छ । 

मेसिनको क्षमता अनुसार शिवसताक्षी नगरभित्र फोहोर उत्पादन नहुने भएकाले छिमेकी पालिकासँग सहकार्य आवश्यक रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत राई बताउनुहुन्छ ।

“प्रति घण्टा ३०० केजी फोहोर जलाउने क्षमता मेसिनको छ, बजार क्षेत्र धेरै नभएको कारण शिवसताक्षी नगरभित्र त्यति धेरै फोहोर उत्पादन हुँदैन,” अधिकृत राईले भन्नुभयो–“छिमेकी पालिकाहरुको समेत फोहोर जलाउने व्यवस्था मिलाएर लागत शेयरिङ गर्ने हाम्रो योजना छ ।”

झापामा दमक, विर्तामोड र मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै फोहोरमैला उत्पादन हुने गरेको छ । विर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाले कनकाईको जामुनखाडीमा फोहोरबाट जैविक ग्यास र कम्पोस्ट मल बनाउने संयुक्त परियोजना निर्माण गरेका छन् । दमकले एकल प्रयासमा फोहोरबाट जैविक ग्यास उत्पादन गर्न थालिसकेको छ भने मेचीनगरमा अहिलेसम्म खोला किनारमा जथाभावी फोहोर फ्याँक्ने गरिएको छ ।