१२ साउन २०८१, शनिवार

राजनीति

‘झडपको त्रास’ले काँकरभिट्टा क्याम्पसको स्ववियू चुनाव स्थगित

३ चैत २०७९, शुक्रवार
Image

मेचीनगर, ३ चैत । विद्यार्थी संगठनहरुबीच हिंस्रक झडप हुने सम्भावना बढेपछि काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियू चुनाव स्थगित भएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले अराजक गतिविधि गरेर अशान्ति र तनावपूर्ण वातावरण सिर्जना गरेको कारण चुनाव स्थगित गर्नुपरेको क्याम्पसले दावी गरेको छ ।

देशभरका क्याम्पसहरुमा त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियू चुनावको मिति तय गरेको थियो ।

क्याम्पसले आज काँकरभिट्टामा पत्रकार सम्मेलन गरी चुनाव अर्को निर्णय नभइञ्जेलसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले क्याम्पस सञ्चालक समिति, निर्वाचन समिति, त्रिवि प्रतिनिधि र प्राध्यापक समितिको संयुक्त बैठकले चुनाव स्थगित गर्नुपर्ने निर्णय गरेको बताउनुभयो ।

ती सरोकारवालाहरुको बैठक आज विहान बसेको थियो । 

केही दिन अघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ताले क्याम्पसको बोर्ड च्यातेर फ्याँकेका थिए । क्याम्पसमा चुनावको प्रक्रियालाई लिएर विभिन्न निहुँ झिक्दै एमाले अखिल र कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेतृत्वको गठबन्धन आपसमा विरोधमा उत्रिने गरेका छन् ।