१२ साउन २०८१, शनिवार

मलको अनुदान कटौति

रास्वपाद्वारा ‘बोरा ओढेर’ विरोध प्रदर्शन

५ चैत २०७९, आइतवार
Image

झापा, ५ चैत । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान कटौतिको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा ‘बोरा ओढेर’ प्रदर्शन गरेका छन् । 

कृषकलाई मलको अनुदान कटौतिको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति उमेश खरेलको नेतृत्वमा बोरा लगाएर बिर्तामोडमा प्रदर्शन गरेका हुन् ।

रास्वपा आवद्व किसान पक्षधरहरुले अनुदान कटौतिको विरोधमा बोरा लगाएर सहभागिता जनाएका थिए ।

हातमा राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निणर्य फिर्ता गर, किसानको आँसुमा पौडी नखेल, विना ब्याज, विना धितो कृषि ऋण उपलब्ध गर, किसानलाई समयमै मलखाद उपलब्ध गर लगायतका मागसहित प्ले कार्ड र ‘बोरा ओढेर’  प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि बिर्तामोडको मुक्तिचोकमा कोणसभा भएको थियो । कोणसभामा सभापति खरेलले प्रदर्शन गर्नुका कारणहरुका बारेमा जानकारी गराएका थिए ।

कोणसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु सुरेशकुमार पोखरेल, प्रकाश पाठक, शम्भु सुस्केरा ढकाल, लगायतले किसानको समस्या बुझिदिन माग गरेका थिए ।

उनीहरुले कृषि बिमा निःशुल्क गर्न, ५० प्रतिशत भन्दाबढी अनुदान दिन, कृषि उत्पादन बढाउन, कृषि उद्योग स्थापना गर्न माग गरेका थिए ।

यही फागुन २९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको बैठकले अनुदान घटाउने निर्णय गरेको थियो । 

रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ४ प्रतिशत कायम गरिएको छ । कृषि मन्त्रालयले यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिने समेत बताएको छ ।

सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढेको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डीएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० रुपैयाँमा बिक्री वितरण हुनेछ ।