१२ साउन २०८१, शनिवार

सभामुखले फिर्ता लिए ‘विवादास्पद बोली’

६ चैत २०७९, सोमवार
Image

झापा, ६ चैत । सभामुख देवराज घिमिरेले ‘प्रेसप्रतिको विवादास्पद बोली’ फिर्ता लिनु भएको छ ।

आज नेपाल पत्रकार महासंघको टोली सभामुख घिमिरेको कार्यकक्षमा छलफलका लागि गएको अवसरमा उहाँले आफ्नो अभिव्यक्ति फिर्ता लिनु भएको महासंघका महासचिव रोशन पुरीले बताउनुभयो ।

महासचिव पुरीले सामाजिक सञ्जालमा सार्वजनिक गर्नु भएको विवरण अनुसार सभामुख घिमिरेले नेपाली प्रेसले लोकतन्त्रका लागि खेलेको भूमिकाको सम्मान गर्दै प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता जनाउनु भएको छ ।

दुई दिन अघि महासंघकै टोली सभामुखलाई भेट्न जाँदा भएको कुराकानी सन्दर्भमा सभामुखले बोलेका कुरा विवाद आएका थिए । उहाँले नेपाली पत्रकारहरु विक्ने गरेको आरोप लगाएको भनी विवाद भएको थियो ।

आजको छलफलमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी हुनुहुन्थ्यो भने सभामुख घिमिरे, उहाँका तर्फबाट प्रेस सल्लाहकार शेखर अधिकारी र प्रधानमन्त्रीका पूर्व प्रेस संयोजक चेतन अधिकारीको उपस्थिति रहेको थियो ।