१२ साउन २०८१, शनिवार

मेची सामुदायिक चुनावको नतिजा आजै आउने

७ चैत २०७९, मङ्गलवार
Image

मेचीनगर, ७ चैत । मेची सामुदायिक सेवा केन्द्रको अध्यक्ष र सचिव छान्न आज भएको चुनावको मतगणना आजै हुने भएको छ ।

काँकरभिट्टामा सामाजिक मेलमिलाप गराउन प्रतिष्ठित सामुदायिक संस्थाको रुपमा रहेको केन्द्रमा ५१० जना मतदाता रहेका छन् । अरु पदमा सर्वसम्मत चयन भए तापनि अध्यक्ष र सचिवमा चुनाव भएको हो ।

निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले आज ३ बजेसम्म मतदान हुने र साढे ३ बजेदेखि मतगणना सुरु हुने बताउनुभयो ।

बेलैमा गणना सुरु हुने भएकाले परिणाम पनि आज बेलैमा आउने अपेक्षा गरिएको छ ।

अध्यक्ष पदमा पत्रकारिता पृष्ठभूमिका मुक्ति पौडेल र राजनीतिक पृष्ठभूमिकी बिना तामाङ उम्मेद्वार हुनुहुन्छ भने सचिवमा अर्जुन राई र घनश्याम लामिछाने उम्मेद्वार हुनुहन्छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रले अध्यक्षकी उम्मेद्वार तामाङलाई समर्थन जनाएका छन् । अध्यक्ष पदका दुबै उम्मेद्वार कांग्रेस पृष्ठभूमिका भएको हुँदा पार्टीको मेचीगनर कमिटीले विज्ञप्ति नै निकालेर तामाङलाई आधिकारिक घोषणा गरेको छ ।

पत्रकारिता र सामाजिक पृष्ठभूमिका मुक्ति पौडेलले स्वतन्त्र उम्मेद्वार भएको बताउनुभएको छ । सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप राम्रो नहुने धारणा राख्दै आउनु भएको पौडेलले दलीयकरणसँग असन्तुष्ट र स्वतन्त्र मतदाताको समर्थन पाउने सम्भावना छ ।

नेतृत्व छनोटका लागि विहान ९ बजेदेखि काँकरभिट्टाको सामुदायिक भवनमा मतदान भइरहेको छ ।

(तस्वीर देबेन्द्र खरेल)