१६ चैत २०८०, शुक्रवार

कट्टेलको ‘जीवनका मोडहरु’ लोकार्पण

७ चैत २०७९, मङ्गलवार
Image

धुलाबारी, ७ चैत । नेपाली कांग्रेसका नेता तथा साहित्यकार राम कट्टेलको ‘जीवनका मोडहरु’ नामक कविता संग्रहको मंगलबार विमोचन भएको छ । 

कृतिको विमोचन नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले गर्नुभएको हो । कट्टेलको यो दोस्रो कृति हो । 

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिले भन्दा साहित्यले विश्वका हरेक मानिसलाई जीवन्त र कालजयी बनाएको बताउनुभयो । 

उहाँले वीपी कोइराला, मदन भण्डारी र अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको उदाहरण दिदै भन्नुभयो, “झापा पनि राजनीतिसँगै साहित्यको उर्वर र सिर्जनशील भूमि हो ।” उहाँले कट्टेलको कृति उत्कृष्ट रहेको दाबी बताउनुभयो । 

कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङले भाषा साहित्यको विकासका लागि आफूले सकेको सहयोग गर्ने बचन दिनुभयो । 

साहित्यकार एवम् सञ्चारकर्मी चन्द्र भण्डारीले मेचीनगर साहित्यकारहरुको उर्वरभूमि रहेको बताउनुभयो । उहाँले संघीय, प्रदेश र स्थानीय सरकारले पनि साहित्य क्षेत्रको उत्थान र उन्ययनमा बेवास्ता गरेको गुनासो गर्नुभयो । 

कार्यक्रममा बरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डेलगायतले कृतिको चर्चा गर्नुभएको थियो । 

कृतिमा ११० वटा कविता प्रकाशित रहेको र अधिकांश कविता राजनीतिक र सामाजिक पृष्ठभूमिमा रचना गरिएको समीक्षक बिनोद खनालले बताउनुभयो ।

डिल्लीराम स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका कृतिकार कट्टेलले राजनीति र सामाजिक सेवाबाट बचेको समय साहित्यमा लगाउँदै आएको बताउनुभयो । यस अघि उहाँले ‘सम्बन्ध’ नामक कृति प्रकाशन गरिसक्नुभएको छ ।