७ वैशाख २०८१, शुक्रवार

यात्रु शाखामा लगेर सवारी साधनको झञ्झटिलो चेकजाँच

८ चैत २०७९, बुधवार
Image

काँकरभिट्टा, ८ चैत । मेची भन्सार कार्यालयले एसियन हाइवे भएर भित्रिने सवारी साधनलाई यात्रु शाखामा लगेर चेकजाँच गर्न थालेपछि विरोध भएको छ ।

राजनीतिक तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरुले एसियन हाइवे हुँदै भित्रिने गाडीहरुलाई जाँच गर्दा झञ्झटिलो भएको गुनासो गरेका छन् ।

भन्सारले भारतबाट भित्रिने मालवाहक गाडीलाई दक्षिणतिरको मूल भन्सार कार्यालय परिसरमा र सवारी साधनलाई उत्तरतिरको यात्रु शाखाको परिसरमा लगेर बिगत पाँच दिनदेखि चेकजाँच गरिरहेको छ ।

व्यवसायी तथा गाडी चालकहरुले यात्रु शाखामा लगेर जाँच्ने भन्सारको नयाँ नियमबाट सास्ती भएको बताएका छन् । तर, भन्सार प्रशासनले केही दिनको परीक्षणका लागि मात्र यो व्यवस्था लागू गरिएको जनाएको छ ।

‘आउँदो आइतबारसम्म यही व्यवस्था लागू हुन्छ, त्यसपछि खुला भइहाल्छ,’ भन्सार प्रशासन स्रोतले भन्यो–‘गाडी चेकजाँच गर्दा आत्तिहाल्नु पर्दैन । परीक्षणका लागि मात्र नयाँ नियम लगाइएको हो ।’

भारतबाट हाइवे हुँदै सिधै नेपाल भित्रिने गाडीहरुले भन्सार छलेर सामान ल्याउन थालेको जानकारी आएपछि यात्रु शाखामा लगेर जाँच्ने व्यवस्था गरिएको भन्सारको दावी छ ।

यात्रु शाखामा गाडी लैजाँदा चेकजाँच कडा हुने गरेको व्यवसायीहरुको गुनासो छ । तर, भन्सार प्रशासनले भारतबाट एसियन हाइवे हुँदै सिधै भित्रिने गाडीमा महँगो मूल्यका मदिरा भन्सार छलेर ल्याइने गरेको जनाएको छ ।

राजस्व नतिरी मालबस्तु भित्रिदा राज्यलाई हुने नोक्सानी रोक्न चेकजाँचमा कडाई गरिएको हुँदा यसलाई सकारात्मक रुपमा लिइदिन भन्सार प्रशासनले आग्रह गरेको छ ।

भन्सारले चेकजाँचको नयाँ नियम लागू गरेपछि व्यवसायीहरुले प्रहरी, प्रशासन र दलका नेताहरुलाई समस्या सुनाउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।