१ असोज २०८१, मङ्गलवार

सत्कर्म नै सबैभन्दा ठूलो धर्म : सभामुख घिमिरे

८ चैत २०७९, बुधवार
Image

झापा, ८ चैत । सभामुख देबराज घिमिरेले सत्कर्म नै सबैभन्दा ठूलो धर्म हुने बताउँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रबर्धनबाट मुलुकको पर्यटनमा टेवा पुग्ने धारणा ब्यक्त गर्नु भएको छ । 

गृहजिल्ला झापाको क्षेत्र नं. १ र २ को सीमास्थित पाउ पाथिभरा धाममा आयोजित सप्ताहव्यापी श्रीमद्भागवत महापुराणको आज एक समारोहबीच उद्घाटन गर्दै पाथिभरा माताका मन्दिरहरु कोशी प्रदेशको सांस्कृतिक पहिचान रहेको बताउनु भयो ।

ताप्लेजुङमा पाथिभरा माता, इलाममा सानी पाथिभरा माता र झापाको चारआलीमा पाउ पाथिभरा माताको मन्दिर रहेको उल्लेख गर्दै सभामुख घिमिरेले स्थापनाको आठ वर्षमै पाउ पाथिभरा माताप्रति धर्मानुरागीहरुले दर्शाएको आस्था र विश्वासले यस क्षेत्रकै विकासमा महत्वपूणर् सघाउ पुगेको बताउनुभयो ।

महापुराणको आयोजनाले सत्कर्ममा लाग्न समस्त मानव समुदायलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सबै धर्मले मानव कल्याण र शान्तिकै सन्देश बोकेको हुँदा धार्मिक अनुष्ठानमार्फत समाजको उन्नति र जागरणमा योगदान पुग्ने उहाँको भनाई थियो ।

उद्घाटन समारोहमा शुभकामना मन्तब्य ब्यक्त गर्दै नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आम नागरिकहरुमा वितृष्णा र नकारात्मक सोचाइको विकास भइरहेका कारण धार्मिक अनुष्ठानहरुले जीवनप्रतिको आशा र सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो । 

समाजमा आर्थिक विकास र शान्तिपूणर् जीवनयापनको वातावरण भए तापनि नागरिकहरुमा वितृष्णा बढिरहेकोप्रति उहाँले चिन्ता क्यक्त गर्नुभयो ।

ताप्लेजुङमा प्रसिद्ध पाथिभरा देवीले भ्रमण गर्दा एउटा पाउ झापाको यही पाउ पाथिभरा धाममा र अर्को पाउ भारतको आसामको गुवाहाटीस्थित प्रसिद्ध कामाक्षा मन्दिरमा परेको धार्मिक विश्वास रहेको पाउँ पाथिभरा धामका अध्यक्ष तिलकप्रसाद गिरीले बताउनुभयो ।

धामको प्रचार प्रसार गरी धार्मिक पर्यटन अभिवृद्धिको उद्देश्य राखेर हरेक वर्ष एउटा महापुराणको अनुष्ठान आयोजना भइरहेको उहाँले जानकारी दिनुभयो । यसपाली चैत ८ गते सुरु भएको श्रीमद् भागवत चैत १६ गते समापन हुने बताइएको छ ।