१५ वैशाख २०८१, शनिवार

कोशी प्रदेशका किसानले दुधमा अनुदान पाउँदै

८ चैत २०७९, बुधवार
Image

झापा, ८ चैत । कोशी प्रदेशमा दुध उत्पादन गर्ने छ वटा जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान दिने भएको छ ।

ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन बृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक बर्षमा रु. १२ करोड ५० लाख रकम अनुदानका लागि बिनियोजन गरेको छ ।

प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी र सहकारीका माध्यमबाट किसानहरुलाई अनुदान दिइने पशुपंक्षी तथा मत्स्य विकास निर्देशालय कोशीका सूचना अधिकारी डा. विनोद साहले बताउनुभयो । 

“यो कार्यक्रम प्रदेशमा पहिलोपटक लागू भए पनि निकै उपयोगी हुनेमा आशावादी छौं”, उहाँले भन्नुभयो ।  जिल्लाका भेटनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध संकलन गर्ने संस्थाहरुसँग आवेदन माग गरेको र आवेदनबाट छनोटमा परेका संस्थामार्फत किसानहरुको तथ्याङ्क संकलन गरेर उनीहरुको अनुदान रकम वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

झापा र इलाममा अनुदान वितरणका लागि १८ वटा डेरी र सहकारी छनौट भइसकेका छन् । तिनीहरुले दुध उत्पादन गरिरहेका किसानहरुको लगत संकलन गरेर प्रति लिटर रु. दुईका दरले अनुदान वितरण गर्नेछ । 

उत्पादनका आधारमा किसानलाई अनुदान दिँदा साना किसानहरु बढी लाभान्वित हुने उहाँको भनाई छ । अनुदानले किसानलाई प्रोत्साहन हुने र दूध उत्पादनमा बृद्धि गर्ने सरकारको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो । 

“प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन यो कार्यक्रम अघि सारिएको हो”, डा. साहले भन्नुभयो, “अनुदानको कार्यक्रमले कृषक आकर्षित हुन्छन् र दूध उत्पादन बृद्धिमा मन लगाएर लाग्छन् ।”

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी पशुपंक्षी तथा मत्स्य विकास अधिकृत शितल भट्टराईले झापा र इलामका ५७ वटा संस्थाहरुले किसानलाई अनुदान रकम वितरणका लागि कार्यालयमा आवेदन दिएको बताउनुभयो । उहाँले दूध संकलन गर्ने संस्थाबाट आएको आवेदनका आधारमा छनोट गरी किसानको तथ्याङ्क र दूधको परिणामको विवरण लिई रकम वितरण गर्ने बताउनुभयो । 

उहाँले छ/छ महिनामा किसानलाई रकम वितरण गर्ने भनिए तापनि विवरण आइनसकेका कारण रकम वितरण हुन नसकेको बताउनुभयो । “सबै विवरण आउन बाँकी छ, विवरण आइसकेपछि जनप्रतिनिधिसहितको रोहबरमा रकम वितरण गर्छौं, उहाँले भन्नुभयो । 

उहाँका अनुसार झापा र इलामका दुध किसानलाई प्रति लिटरमा दुई रुपैयाँ अनुदान दिने गरी प्रदेश सरकारले रु छ करोड ५० लाख रकम विनियोजन भएको बताउनुभयो । जसमध्ये झापामा रु. तीन करोड ७५ लाख र इलाममा रु. दुई करोड ७५ लाख रकम अनुदानका लागि विनियोजन भएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।