१२ साउन २०८१, शनिवार

नगरपालिकामा ई–हाजिरी उपकरण जडान

८ चैत २०७९, बुधवार
Image

मेचीनगर, ८ चैत । मेचीनगर नगरपालिकाले आजदेखि बायोमेक्टिक ई–हाजिरी उपकरण सञ्चालनमा ल्याएको छ ।

बुधवार मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले फेस सो र निरीक्षण गरेर ई–हाजिरी उपकरण सञ्चालनमा ल्याएका हुन् । 

एक महिनादेखि परीक्षणकालमा रहेको सो उपकरण आजदेखि विधिवत रुपमा प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा मेयर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सूचना अधिकारी अशोककुमार भेटवाल लगायतको उपस्थिति रहेको थियो ।

७ लाख ५० हजार खर्च गरेर नगरपालिका अन्तरगतका स्वास्थ्य चौकी, सामुदायिक विद्यालय, वडा कार्यालयहरु गरी ३२ वटा सो उपकरण जडान गरिएको जनाएको छ ।


तत्कालका लागि काँकरभिट्टा मावि र चारआलीको दशरथ चन्द मावि, स्वास्थ्य चौकी र १५ वटै वडा कार्यालयमा सो उपकरण जडान गरिएको छ । निकट भविश्यमा बाँकी नगरपालिका अन्तरगतको सार्वजनिक कार्यालयहरुमा जडान गरने बताइएको छ ।

मेचीनगरलाई प्रविधिमैत्री नगरपालिका बनाउने उद्देश्यले पनि सो प्रविधि जडान गरिएको मेयर बुढाथोकीले बताए । 

फेस सो गरेर ई–हाजिरी हुने उपकरणमा १० वजेर १५ मिनेटको समय सेटअप गरिएको छ । सो समयमा कर्मचारीले हाजिरी नगरे कारण खुलाएर निवेदन दिनु पर्नेछ । यदि सो समयमा हाजिरी गरेको कारण नखुले कारवाही हुने मेयर बुढाथोकीले बताए ।

अब केहि समयभित्र नगरबासीले घरमै बसेर अनलाइन सेवा मार्फत राजश्व बुझाउन सकिने सूचना अधिकारी भेटवालले बताए । जन्म दर्ता, सिफारिस, एकिकृत सम्पति कर लगायतका अन्य सेवाहरुको राजश्व नगरबासीले अनलाइन मार्फत तिर्न बुझाउन सकिने उनले बताए ।