१२ साउन २०८१, शनिवार

राष्ट्रपति चुनाव वहिष्कार लगत्तै राप्रपा नेताहरु पूर्वराजाको मिनी दरबारमा

९ चैत २०७९, बिहिवार
Image

झापा, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उच्च नेताहरुसहित पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ ।

दमकको चियाबारीस्थित मिनी दरबारमा बस्दै आउनु भएको शाहसँग बुधवार भेटवार्ता भएको हो ।

भेटवार्तामा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी सहभागी हुनुहुन्थ्यो ।

पूर्वराजा शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच सम्बन्ध चिसिएको चर्चा लामो समयदेखि भइरहेको बेला यो भेटवार्ता भएको छ । भेटवार्ताले सम्बन्धमा सुधार आएको संकेत गरेको छ ।

वरिष्ठ उपाध्यक्ष मिश्रले आफ्नो फेसबुक वालमा भेटवार्ता पछि उभिएर खिचिएको एउटा तस्वीर पोस्ट गर्दै लेख्नु भएको छ–‘बीचमा देशको मियो, छेउछेउमा हामी ।’

मिश्रको पोस्टमा नकारात्मक कमेन्टको बाढी आएको छ । अधिकांश कमेन्टमा राजतन्त्रको विषय बेकार रहेको टिप्पणी आएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले झापाबाट सुरु गरेको मेची महाकाली अभियानको उद्घाटन समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यहरुसहित सहभागी बनेपछि राप्रपासँग पूर्वराजा असन्तुष्ट भएर प्रसाईका कार्यक्रमतिर लागेको चर्चा हुन थालेको थियो ।

प्रसाईले पनि आफ्ना भाषणहरुमा राप्रपाले राजतन्त्रको मुद्दा त्यागेको आरोप लगाउँदै राप्रपा अध्यक्ष लिङ्देनको मजाक उडाउने गर्नुभएको थियो । राप्रपा अध्यक्ष लिङ्देन र प्रसाईबीच व्यक्तिगत आरोप प्रत्यारोपका उत्तेजक भाषणबाजी समेत हुने गरेको थियो ।

नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारमा लिङ्देन मन्त्री बनेपछि पूर्वराजा शाह राप्रपासँग झनै चिढिएको चर्चा हुने गरेको थियो । लिङ्देनले शाहसँग सल्लाह लिन छाडेको समेत चर्चा हुने गरेको थियो ।

तर, सरकारबाट बाहिरिएको राप्रपाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा मत नहाल्ने निर्णय गरेपछि पूर्वराजा शाह राप्रपासँग खुशी रहेको राप्रपा निकट नेताहरु बताउँछन् ।

यहीकारण पूर्वराजा शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच दमकका भेटवार्ता भएको बताइएको छ । भेटघाटका विषय दुबै पक्षले सार्वजनिक गरेका छैनन् ।