२६ वैशाख २०८१, बुधवार

मेचीनगरमा ‘मगर भाषा’ पढाउने तयारी

९ चैत २०७९, बिहिवार
Image

काँकरभिट्टा, ९ चैत । नेपाल मगर संघ झापाले मेचीनगरमा मातृभाषा, मगर लिपिमा प्रौढ कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

मेचीनगर–३ स्थित बलभद्र माविमा मगर भाषामा प्रौढ कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

संघका झापा अध्यक्ष विकास थापा मगरले बलभद्र माविमा मातृभाषा, मगर लिपिमा प्रौढ कक्षा सञ्चालन गर्ने तयारी गरेको बताए । उनका अनुसार तत्कालै विद्यालयको एउटा कोठामा मगर भाषामा प्रौढ कक्षा सञ्चालन गरिनेछ । 

एक हप्तापछि विद्यालयको एउटा कोठामा बच्चादेखि वृद्व–वृद्वालाई एउटै कोठामा पढाउने तयारी गरिएको छ ।

स्थानीय सरकार, जिल्ला शिक्षा तथा समन्वय समिति र जिल्ला प्रशासन कार्यालय झापामा विधिवत दर्ता भएपछि बलभद्र माविमा कक्षा १ देखि मगर भाषामा पढाइ सञ्चालन गरिने अध्यक्ष थापाले जानकारी दिए ।

यसैबीच वडा नम्बर ३ मा अर्पण बलमपाकी मगरको नेतृत्वमा नेपाल मगर संघ वडा समिति गठन भएको छ ।

अर्पण बलमपाकी अध्यक्ष रहेको समितिको उपाध्यक्षमा प्रेमबहादुर राजा, सचिवमा अर्जुन बलमपाकी  मगर, सहसचिवमा ढंगाली मगर र कोषाध्यक्षमा रजुमाया थापा मगर सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शेरबहादुर समाल मगर, रञ्जु सारु मगर, नारायण बलमपाकी मगर, आइस्मा पिठाकोटे, पुजा बलमपाकी मगर चयन भएका छन् । २ जनापछि पहिलो वैठक मनोनित गरिने बताइएको छ ।

मगर समुदायका अगुवा राजेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ झापाका अध्यक्ष विकास थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि झापा अध्यक्ष थापा, मगर संघका नेताहरु मणिराज लुंगेली मगर, ज्ञानबहादुर मगर, काजी तामाङ, चित्र मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।