८ वैशाख २०८१, शनिवार

छ्याप्छ्याप्ती सिंगापुरे सुपारी र भारतीय कुखुरा

९ चैत २०७९, बिहिवार
Image

मेचीनगर, ९ चैत । खुला सीमा र खुकुलो प्रशासनको फाइदा उठाउँदै विदेशी सुपारी र कुखुरा छ्याप्छ्याप्ती भित्रिने गरेको छ ।

जसका कारण स्थानीय किसानले फलाएको सुपारी र पोल्ट्री फार्ममा उत्पादित कुखुराले उचित मूल्य र बजार पाउन सकेको छैन ।

यही विषयमा मेचीनगर नगरपालिकाले आज सरोकारवाला सबै पक्षलाई एउटै थलोमा भेला गरेर समाधानका लागि छलफल कार्यक्रमको आयोजना गर्यो ।

भारतबाट दिनहुँ चार हजार केजीसम्म ब्रोइलर कुखुराको मासु र अण्डा भित्रिरहँदा सीमा प्रशासनले रोक्न नसकेको भन्दै स्थानीय कुखुरा र मासु व्यवसायीले छलफलमै आक्रोश व्यक्त गरे ।

“भारतबाट भित्रिने कुखुरा नरोक्ने हो भने कुखुरा व्यवसायीहरु बैंकको ऋण तिर्न नसकेर मर्न बाध्य हुने अवस्था आइसक्यो,” झापा जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष विवेक निरौलाले भन्नुभयो–“एक वर्षमा १५० वटा ह्याचरी र दाना उद्योग बन्द भइसके, स्वदेशी उद्योगलाई बचाउन अबैध आयात रोकिदिनु पर्यो ।”

मेचीनगर वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले वाहुनडाँगी सीमाबाट दैनिक सय केजी कुखुरा भारतबाट भित्रिरहेको जनाउँदै सीमा क्षेत्रमा उत्पन्न तस्करी, मानव हात्ती द्वन्द्व लगायतका समस्याको समाधान खोज्न प्रशासनिक निकायले आनाकानी गरिरहेको गुनासो गर्नुभयो ।

मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राईले केही व्यवसायीले भारतबाट मरेका कुखुरा समेत ल्याउने गरेको हुँदा स्वच्छ व्यवसायीहरु समेत बद्नाम भइरहेको बताउनुभयो ।

प्रदेश सांसद् गोपाल तामाङले काँकरभिट्टाका होटलहरुमा सय रुपैयाँ केजीका दरले भारतीय कुखुराको मासु ल्याइदिने धन्धावालहरु समेत रहेको उल्लेख गर्दै यसबाट लाखौं लगानी गरेर स्थापना गरिएका स्वदेशी कुखुरा पालक किसानहरु मारमा परको बताउनुभयो ।


लोकल सुपारी बिकेन

सिंगापुर र इन्डोनेसियाबाट वर्षेनी ठूलो मात्रामा आयात गरिने विदेशी सुपारीका कारण जिल्लामै उत्पादन हुने रैथाने सुपारीले बजार नपाएको स्थानीयले गुनासो गरेका छन् ।

सुपारी उत्पादक निलकण्ठ तिवारीले स्वदेशमै पर्याप्त सुपारी उत्पादन भइरहेको जनाउँदै विदेशबाट आयात गर्न आवश्यक नरहेको बताउनुभयो ।

उहाँले स्वदेशी सुपारीलाई चेकजाँच र भ्याटका बहानामा व्यापारमा सास्ती दिइएको उहाँको भनाई थियो । 

बाहुनडाँगीबाट गाडीमा लोड गरेर काँकरभिट्टा ल्याउँदा सशस्त्र र नेपाल प्रहरीले स्वदेशी सुपारी पक्रेर इटहरीको राजस्व अनुसन्धानमा पुर्याउने गरेको रैथाने सुपारी व्यवसायी हरि चम्लागाईले बताउनुभयो ।


समाधान खोज्न प्रशासन तयार

विदेशी सुपारी र भारतीय कुखुराको धन्धाका कारण स्वदेशी उत्पादनको बजारमा परेको नकारात्मक असरलाई ध्यानमा राखेर प्रहरी प्रशासनले समाधानमुखी कदम चाल्ने बनबद्धता प्रकट गरेको छ ।

‘कतिपय कुरा यही कार्यक्रममार्फत थाहा भयो, हामी स्वदेशीलाई प्रोत्साहन र अबैध आयातलाई निरुत्साहित बनाउन जुनसुकै कडा कदम चाल्न तयार छौं’–सशस्त्र प्रहरी वलका एसपी देबराज अर्याले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गा रेग्मीले १४४ किलोमिटर लामो खुला सीमामा जनशक्ति खटाउन पर्याप्त नहुने जनाउँदै सेटिङमा सुपारी र कुखुरा भित्रिन नदिने बताउनुभयो ।

मेचीनगर प्रमुख गोपाल बुढाथोकीको अध्यक्षता तथा पहलमा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कानून र पद्धतिमा सरकार चल्ने बताउँदै स्थानीय किसान र व्यवसायीका समस्या समाधानका लागि प्रशासन सँधै सहयोगी रहेको आश्वासन दिनुभयो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख शुभ रिजाल, मेची भन्सार कार्यालयका अधिकृत राजेश दत्त, मेची कृषक सहकारी संस्थाका दुर्गा सापकोटा, वडाध्यक्ष अर्जुन कार्की र ललित तामाङ लगायतले आफ्नो धारणा राख्नु भएको थियो । 

कार्यक्रमको सञ्चालन मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद भण्डारीले गर्नुभएको थियो ।