१ असोज २०८१, मङ्गलवार

महिला जनचेतनाले गर्यो सुरक्षित गर्भपतन सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

१० चैत २०७९, शुक्रवार
Image

धुलाबारी, १० चैत । महिला जनचेतना केन्द्र मेचीनगरले सरोकारवालाहरुसँग गर्भपतनको अधिकार विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ । 

मेचीनगर नगरपालिका सभाहलमा शुक्रवार आयोजित कार्यक्रममा समाजमा अझै पनि सुरक्षित गर्भपतन सम्बन्धी सेवाका बारेमा जानकारी नहुँदा ग्रामीण क्षेत्रका महिलाहरुले भोग्दै आएका  समस्या र चुनौतिका बारेमा यो अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने बताइएको छ । 

संस्थाकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले कार्यक्रममा स्थानीय तहका हरेक वडाहरुमा सुरक्षित गर्भपतन सेवा दिन नसके पनि जनप्रतिनिधिहरुले सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । 

उहाँले मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा केन्द्रले गरेको अध्ययन अनुसन्धानले अधिकांश महिलाहरुले सुरक्षित गर्भपतनका बारेमा जानकारी नहुँदा घरेलु हिंसाको शिकार बनेका तथ्याङ्कहरु फेला परेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघकी स्टाफ नर्स प्रकृति बास्तोलाले सुरक्षित गर्भपतनको कानुनी अवस्था, समस्या र चुनौतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अझै पनि समाजमा असुरक्षित गर्भपतन गराउने महिलाको संख्या ५८ प्रतिशत रहेको बताउनुभयो । 

उहाँले प्रादेशिक तथा स्थानीयस्तरमा यस सेवाको बारेमा जानकारीमा कमी हुनु, तालिम नलिएका र सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट अबैधानिक रुपमा सेवा दिइरहनु र गर्भपतनप्रतिको हेयभावपूर्ण व्यवहार तथा सामाजिक लाञ्छना लगाउने प्रवृत्तिले अझै समाजमा चुतौति दिइरहेको बताउनुभयो । 

मेचीनगर नगरपालिकाकी स्वाथ्य अधिकृत सविता सापकोटाले नेपाल सरकारले तोकिएका स्थानबाट गर्भपतन सेवा लिनेका लागि नि:शुल्क औषधिको समेत व्यवस्था गरिरहेको जानकारी दिनुभयो । 

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशकी सांसद सविना बजगाई, विशेष अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँहरुले ग्रामीण क्षेत्रमा सचेतनामूलक कार्यक्रम प्रवाह गर्न आफूहरु लागि पर्ने बताउनुभयो ।

संस्थाकी अध्यक्ष सीता गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख गोपाल बुढाथोकी, वडा नम्बर ४ का अध्यक्ष अर्जुन कार्की, वडा नम्बर ६ का अध्यक्ष ललित तामाङ, वडा नम्बर ७ का अध्यक्ष प्रल्हादमणि ओली, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी खनियाँले व्यक्त गर्नुभएको थियो भने सञ्चालन रेजिना श्रेष्ठले गर्नुभएको थियो ।

विगत १८ बर्ष अघि मानव अधिकार, सामाजिक न्यायमा सबैको पहुँच, स्थानीयस्तरमा लैङ्गिक समानता कायम गर्न सहयोग गर्ने, लक्षित समुदायको शिक्षाको गुणस्तर बृद्धि गर्ने, सामाजिक तथा आर्थिक क्षेत्रमा महिलाको सशक्तिकरण गर्ने, बालविवाह न्यूनीकरण र सुरक्षित गर्भपतन सम्बन्धी अभिमुखीकरण गर्ने उद्देश्यले संस्था स्थापना गरिएको संस्थापक अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।