२२ वैशाख २०८१, शनिवार

झापामा खुल्यो ‘जैविक मल’ उत्पादन गर्ने उद्योग

१० चैत २०७९, शुक्रवार
Image

झापा, १० चैत । हाई हिमालयन अग्र्यानिक प्रालिले झापाको शिवसताक्षी–८ मा मासिक एक हजार मेट्रिक टन जैविक मल उत्पादन गर्ने कारखाना सञ्चालन गरेको छ ।

रासायनिक मलको अभाव वर्षेनी हुँदै आएको अवस्थामा त्यसको विकल्पको रुपमा प्रयोग गर्न मिल्ने जैविक मलको माग बढिरहेको हुँदा कम्पनीले रु. ६० लाख लगानीमा कारखाना स्थापना गरेको प्रालिका अध्यक्ष प्रदिप घिमिरेले बताउनुभयो । 

छ महिना अघिदेखि कारखानाबाट थ्री स्टार ब्रान्डका चार प्रकारका जैविक मल उत्पादन भइरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिष्थापन गर्नुको साथै माटोको उर्वरा शक्तिलाई बढाउने घिमिरेको भनाई छ ।

कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ । यी पातमल, जरामल र धुलोमलको प्रयोगले बोटविरुवालाई छिटो बढ्न, राम्रो उत्पादन दिन र बाली संरक्षक प्रांगारिक जीवाणुको रक्षा गर्ने उहाँले जानकारी दिनुभयो । माछामलले पोखरीमा माछाका लागि प्राकृतिक खाद्य पदार्थ बढाउन मद तगर्दछ ।

जैविक प्रविधिमा आधारित यी मलहरुको माग दिनानुदिन बढिरहेको जनाउँदै कारखानाका सञ्चालक घिमिरेले माटोमा पहिले प्रयोग भएको रासायनिक मलको नकारात्मक असर हटाउन, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र रोग कीराको प्रकोप नियन्त्रण गर्न समेत यसले सहयोग पुर्याउने बताउनुभयो ।

हाल धुलो र झोलको रुपमा मल उत्पादन भइहरेको छ । महिनामा एक हजार मेट्रिक टन मल उत्पादन गर्न सक्ने क्षमताको कारखाना स्थापना गरिए तापनि हाल महिनामा ५०० मेट्रिक टन मात्र मल उत्पादन हुँदै आएको छ ।

स्थानीयस्तरमा पाइने, झारपात, काठको धुलो, पिना, गाईको गोबर, गहुँतलगायतको कच्चा पदार्थ यो मल बनाउन प्रयोग हुने गरेको छ । आगामी बैशाखदेखि पूर्ण क्षमताका साथ मासिक एक हजार मेट्रिक टन मल उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । 

हाई हिमालयनले कम्पोस्ट मल प्रतिकेजी रु. ५० र झोल मल प्रतिलिटर रु ३० का दरले झापा र इलामका किसानहरुलाई बिक्री गर्दै आएको छ । रासायनिक मलको वर्षेनी हाहाकार हुने र किसानले विकल्प नपाइरहेको अवस्था देखेर जैविक मल उत्पादन गर्ने ठूलो कारखाना स्थापना गर्ने सोच आएको बताउने सञ्चालक घिमिरे पूर्व पत्रकार हुनुहुन्छ । 

उहाँ मूलधारका विभिन्न पत्रपत्रिका र रेडियोमा आवद्ध रहेर पत्रकारिता गर्नुहुन्थ्यो । अहिले पत्रकारिता पेशा बिसाएर कृषि क्षेत्रमा मल क्रान्ति गर्ने लक्ष्यका साथ लागिरहनु भएको छ ।

“एकातिर सरकारले रासायनिक मल किसानलाई चाहिएको बेला उपलब्ध गराउन सकेको छैन, त्यो पनि बिदेशबाट मगाउनु पर्छ,” उहाँले मल काराखाना खोल्नुको कारण बताउँदै भन्नुभयो–“अर्कातिर रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा क्षयीकरण भइसक्यो । विषादीको प्रयोग नगरी बाली उत्पादन हुनछाड्यो । यो जटिल अवस्था देखेपछि पत्रकारिता त्यागेर जैविक मल उत्पादनको कारखाना सञ्चालन गर्ने अठोट गरेका हौं ।” 

उहाँले बार्षिक रुपमा नेपाल सरकारले मल खरिदमा मात्र करिब रु. २५ अर्ब खर्चंदा समेत समयमा किसानले मल नपाउँदा भोग्नु पर्ने सास्तीलाई हाई हिमालयन जस्ता स्व्देशमै खुलेका अग्र्यानिक मल कारखानाले राहत मिल्ने बताउनुभयो ।

मुलुकमा आर्थिक क्रान्ति ल्याउने क्षेत्र नै कृषि भएको हुँदा सरकारले जैविक मल उत्पादक उद्योगी र प्रयोगकर्ता किसानलाई प्रोत्साहन अनुदान दिनु पर्ने उहाँको सुझाव छ । 

उहाँले जैविक मल उत्पादन गर्ने तरिका अध्ययनका लागि थाइल्यान्ड, फिलिपिन्स, डेनमार्क, बेल्जियमलगायतका देशको भ्रमण गरिसकेको बताउनुभयो । “त्यहाँको अनुभव र प्रविधिलाई समेत हामीले यहाँ प्रयोगमा ल्याइरहेका छौं”–उहाँले बताउनुभयो ।

पत्रकारिता पेशा त्यागेर मल कारखाना खोलेर आफुले सुरुमै दैनिक आठ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको बताउनुभयो । मलको माग बढ्दै जाँदा रोजगारीको अझ बढी सिर्जना हुने सम्भावना छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले अर्गानिक मल उत्पादन गर्ने यस्ता कृषि उद्योग खुल्नु सराहनीय भएको बताउँदै जैविक मल उत्पादन गर्ने झापाका दुईवटा कम्पनीलाई रु. एक करोड अनुदानका लागि सम्झौता भइसकेको जानकारी दिनुभयो । 

उहाँले केन्द्रले हाई हिमालय अग्र्यानिक प्रालि र बुद्धशान्ति गाउँपालिका–३ को अंकुरण एग्रो प्रालिलाई रु. ५० लाखका दरले अनुदान दिने सम्झौता भएको बताउनुभयो । अंकुरण एग्रो प्रालिले आगामी बैशाखदेखि मासिक ५०० मेट्रिक टन जैविक मल उत्पादन गर्ने जनाएको छ ।

यो अनुदान प्रदेश सरकारमार्फत आएको हो । कोशी प्रदेश सरकारले अग्र्यानिक मल उत्पादन गर्नेलाई प्रोत्साहन स्वरुप अनुदान दिने नीति ल्याएको छ ।–––

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।