१४ वैशाख २०८१, शुक्रवार

एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : एमाले अध्यक्ष ओली

१० चैत २०७९, शुक्रवार
Image

झापा, १० चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताउनु भएको छ ।

झापामा जिल्लामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलामा सम्बोधन गर्दै उहाँले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिनुभयो ।

“आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो,” उहाँले भन्नुभयो–“तपाईहरु ग्रासरुट अभिायनमा कार्यकर्ताको घर आँगनमा पुग्दा तपाईहरुको व्यवहार मालिक जस्तो होइन, साथी जस्तो हुनुपर्छ ।”

नेकपा एमालेविरुद्ध केन्द्रमा दश दलीय गठबन्धन बनाए तापनि आम जनता एमालेकै पक्षमा रहेको उहाँको दावी थियो । अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरुको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिको रुपमा स्थापित गराउने उहाँले बताउनुभयो ।

उहाँले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हँुँदा यसको विरोध गरिरहेकाहरुलाई समेत एमालेका कार्यकर्ताले सम्झाउनु पर्ने बताउनुभयो ।

“कोशी कुनै जाति र पार्टीको पेवा होइन, हामी सबैको सभ्यताको साझा उद्गमस्थल हो,” उहाँले कोशी प्रदेश नामाकरणका लागि प्रदेशका मुख्यमन्त्री र सांसद्हरुलाई बधाइ दिदै भन्नुभयो–“कौशिक ऋषिका नामबाट प्रदेश बनाइयो भनेर पनि भ्रम छरिएको सुनिएको छ । तर एउटा व्यक्ति वा ऋषिको नाममा कोशी नदीको नाम रहेको कुरा सत्य होइन । मानिस उत्पन्न हुनुभन्दा पहिले कोशी उत्पन्न भएको थियो । कोशी एउटा महान सभ्यता हो, प्रदेशमा बसोबास गर्ने सबै जाति, धर्म र समुदायको जीवनदायी साझा पहिचान हो ।”

एमाले अध्यक्ष ओलीले कुनै कमी कमजोरी भए भने आफ्नो पनि आलोचना गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । “मेरा पनि कमजोरीहरु छन् आनीबानी र व्यवहारमा कुनै पनि कमजोरी देख्नुहुन्छ भने भन्नुहोस् भनेर आमसभाबाट आह्वान गर्न सक्ने एमाले अध्यक्ष मात्रै हो,” उहाँले भन्नुभयो–“मलाई नजिकैबाट हेर साथीहरु, कुनै दाग धब्बा देखियो भने औल्याउँ भन्न चाहन्छु ।”

गृहजिल्ला झापाको मिसन ग्रासरुट अभियान गत फागुन १० गते सुरु भएको थियो । जिल्लाका १५ पालिका र १३१ वटा वडातहमा अभियान सञ्चालन भइरहेको नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।