स्ववियु चुनाव
स्ववियु चुनाव
मेचीनगर, १० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु चुनावमा प्रत्यक्षतर्फ र समानुपातिक तर्फको व्यालेट बक्समा फरक–फरक मत खसेको छ ।
आज सम्पन्न मतदानमा प्रत्यक्षतर्फ ५०४ मत खसेको छ । तर समानुपातिक तर्फको व्यालेट बक्समा ५०५ मत खसेको छ ।
जम्मा ६१६ जना मतदानमा सहभागी विद्यार्थी मध्ये ५०४ जनाले मात्र मतदान गरेका छन् । प्रत्यक्षतर्फको व्यालेट बक्समा त्यति नै खसेको छ ।
तर समानुपातिकतर्फ को व्यालेट बक्समा भने ५०५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
एक मत बढी समानुपातिक तर्फको व्यालेट बक्समा कसरी खस्यो । यसबारेमा निर्वाचन समिति पनि अन्यौलमा छ ।
निर्वाचन समितिका सदस्य दुर्गाबहादुर लुईटेलका अनुसार खसेको मत ५०४ नै हो तर, मतपेटिकामा भएको मत संख्या नै खसेको मानिने निर्वाचन समितिको निर्णय भएकोले समानुपातिकतर्फ ५०५ वटा मतपत्र खसेको छ ।
निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले प्रत्यक्षतर्फ खसेको ५०४ हो, तर समानुपातिकतर्फ ५०५ वटा मतपत्र खसेको पाइएको बताए ।
उनले विद्यार्थीलाई मतपत्र च्यातेर दिँदा २ वटा गएको हुनसक्ने अनुमान गरे । त्यसो गर्दा एउटा विद्यार्थीले २ वटा मतपत्र खसालेको हुनसक्ने अनुमान निर्वाचन समितिको छ ।
दुवैतर्फ बराबरी खस्नु पर्ने मत तर एउटा मत प्रत्यक्षमा कम र समानुपातिकमा एउटा मत बढी खसेको पाइएको छ । कुन चाहिँ मत आधिकारिक हो, निर्वाचन समितिले पनि भन्न सकेन ।
निर्वाचन समितिले राति साढे ८ वजे दिएको नतिजा अनुसार समानुपातिकतर्फ जम्मा ५०५ मत गणना हुँदा नेविसंघको २१७, अनेरास्ववियु (एमाले) को ११६, अनेरास्ववियू (एस)को ११०, राप्रविसंघ ३० र अनेरास्ववियु (क्रान्तिकारी) को २६ मत प्राप्त भएको जनाएको छ । ६ मत बदर भएको बताइएको छ ।