१ असोज २०८१, मङ्गलवार

प्रहरीले खोज्न थाल्यो वेवारिसे मोटरसाइकलका धनी

११ चैत २०७९, शनिवार
Image

झापा, ११ चैत । जिल्ला प्रहरी कार्यालय झापाले लामो अवधिदेखि प्रहरी परिसरमा वेवारिसे अवस्थामा थन्काइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ ।

कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा २३३ वटा मोटरसाइकल वेवारिसे रहेको हुँदा त्यसको हकदावी गर्न १५ दिनको म्याद दिएको जनाएको छ । 

पन्ध्र दिनभित्र हकदावी गर्न कोही नआएमा कानून बमोजिम लिलामी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय परिसरमा वेवारिसे अवस्थामा यस्ता मोटरसाइकल सयौंको संख्यामा वर्षौदेखि राखिदै आएको छ । अधिकांश मोटरसाइकल चालू अवस्थामा छैनन् भने कतिपयको पार्टपूर्जा हराएका वा विग्रिइसकेका छन् ।

ब्लूबुक नभेटिएका, भारतबाट चोरी भएर आएका, चेसिस नम्बर र नम्बर प्लेट नभएका लगायतका मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिने गरेको छ । सुरक्षित रुपमा भण्डारण नगरिएका कारण कयौ मोटरसाइकल लगातार घामपानी परेर कवाडी बनिसकेका छन् । 

मन्त्रीपरिषद्ले जारी गरेको सरकारी सम्पति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि २०७९ परिच्छेद ३ को दफा २० अनुसार प्रहरीले स्वामित्व नखुलेका पुराना सवारी साधन लिलाम विक्री गर्न लागेको सूचना अधिकारी रिजालले बताउनुभयो । 

लिलामी प्रक्रिया सुरु गरिएका अधिकांश मोटरसाइकल नेपाली नम्वरकै छन् । केही साधन भारतीय नम्बरका र केहीको नम्बर प्लेट नै पत्ता नलागेको अवस्था छ ।