१२ साउन २०८१, शनिवार

सेवा केन्द्रको गरिमा उचो बनाउँछु : अध्यक्ष पौडेल

११ चैत २०७९, शनिवार
Image

मेचीनगर, ११ चैत । मेची सामुदायिक सेवा केन्द्रका नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले संस्थाको गरिमा अझ उचो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज आयोजित नयाँ कार्यसमितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले उक्त प्रतिबद्धता जनाउनु भएको हो ।

मेचीनगरका संस्थापक मेयर, सभासद्, निवर्तमान मेयर, वर्तमान उपप्रमुख, वडाध्यक्ष, राजनीतिक दलका प्रमुख लगायत समाजका प्रवुद्ध वर्गले मतदान गरेर निर्वाचित गराएको स्मरण गर्दै अध्यक्ष पौडेलले केन्द्रलाई समुदायको सेवामा समर्पित संस्थाको रुपमा नयाँ ढंगले अघि बढाउने बताउनुभयो ।

प्रहरी र समुदायबीच पुलको समेत काम गर्ने जनाउँदै उहाँले कार्य समितिका साथीहरुको सामूहिक भावनाबाट संस्थालाई सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपाल बुढाथोकीले सेवा केन्द्रलाई नगरपालिकाको सँधै सहयोग रहने बताउनु भयो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले प्रहरीले सेवा केन्द्रसँग आवश्यक सहकार्य गर्ने बताउनुभयो ।

राजनीतिक दलका नेता, सामाजिक संघ संस्थाका प्रतिनिधि, संस्थाका आजीवन सदस्य र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नयाँ कार्य समितिले शपथग्रहण गरेको थियो भने पुरानो समितिले पद हस्तान्तरण गरेको थियो ।

निर्वाचन समितिका राजु कार्कीले सञ्चालन गरेको कार्यक्रममा संयोजक डिल्लीराम घिमिरेले नयाँ कार्य समितिको नाम घोषणा गर्नुभएको थियो ।