१२ साउन २०८१, शनिवार

धुलाबारी खानेपानी चुनाव

रास्वपाका उम्मेदवारहरु ‘भुईमान्छे’

१२ चैत २०७९, आइतवार
Image

मेचीनगर, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर अध्यक्ष भिमबहादुर कुँवरले भुईमान्छेहरुलाई नेतृत्वमा पुर्याउने उद्देश्यले धुलाबारी खानेपानी उपभोक्ता समितिको यही चैत १८ गते हुने निर्वाचनका लागि एक्लै लड्ने निर्णय गरेको बताएका छन् ।

आज धुलाबारी स्थित पार्टीको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष एवम् निर्वाचन परिचालन समितिका संयोजक कुँवरले यस्तो कुरा बताएका हुन् ।

खानेपानी संस्थाको विकृति, विसंगती र दुरुपयोग रोक्न पनि हाम्रो पार्टीले कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावमा उम्मेदवारी दिएको उनको भनाई छ ।

अध्यक्षका उम्मेदवार सन्तोष राजबंशीले पत्रकार सम्मेलनमा हाम्रो उम्मेदवारी किन र हाम्रा प्रतिवद्वताहरु समेतको पार्टीको १० बुँदे धारणा सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा  ६ महिनादेखि ३ वर्षभित्र संस्थाको प्रगति, अनियमितता रोक्ने, पानीको श्रोत विस्तार, कर्मचारीलाई प्रोत्साहन, पाइप लाइन विस्तार, २४ सै घण्टा पानीको सुविधा,कुईक रेसपोन्स टिम, सुझाव पेटिका, खानेपानी संस्थालाई भ्रष्टचार मुक्त बनाउने लगायतका १० बुँदे योजनाहरु रहेको उल्लेख गरिएको छ ।

‘संस्थामा विगतदेखि नै वेथिति मौलाएको छ’, राजबंशीले भने–‘त्यहाँभित्र वेथिति छ । त्यसका लागि आवज उठाउन चाहान्छौँ । संसारमा असम्भव भन्ने कुरा केहि छैन । त्यहाँभित्रको जालो फाल्न पनि जासुसका रुपमा संस्थामा जान ईच्छा रहेको छ ।’

क्षमता, जोस जागर र उत्साहका साथ युवा त्यहाँ पुगे संस्थाका वेथिति र दुरुपयोग रोक्न सक्ने अध्यक्षका उम्मेदवार राजबंशीको दावी छ ।

कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सचिव जीवन कट्टेलले गरेका थिए ।

रास्वपाबाट अध्यक्ष पदमा सन्तोष राजवंशी, उपाध्यक्षमा प्रकाश श्रेष्ठ र सचिवमा ओमनाथ घिमिरे तथा सदस्य पदमा दिनेश गुप्ता, महेन्द्र चौधरी, कमला चापागाईँ आचार्य, सन्तोष विश्वकर्मा, विजय अधिकारी, राजकुमार शाह, मीना बस्नेत थापा, सगलु कवर र लोकनाथ काफ्लले उम्मेदवार रहेका छन् ।

धुलाबारी खानेपानी मेचीनगर–९, १०, ११, १४ र १५ वडामा विस्तार भएको छ । सबैभन्दा धेरै उपभोक्ता मेचीनगर–१० मा छन् ।

धुलाबारी खानेपानीमा ५ हजार ७१६ उपभोक्ता छन् । ती मध्ये ४ हजार ९१७ जनाले मतदान गर्न पाउने छन् । 

३ वर्षे कार्यकाल रहने खानेपानीमा जम्मा कार्यसमिति १५ जनाको हुनेछ । ११ जना निर्वाचित, १ जना निवार्तमान अध्यक्ष र ५ जना सदस्य मनोनित हुनेछन् ।