२२ वैशाख २०८१, शनिवार

सहकारी

मेची सहकारीले दमकमा बनायो नमुना बस्ती

१२ चैत २०७९, आइतवार
Image

दमक, १२ चैत । सहरी क्षेत्रका कतिपय सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको, सञ्चालक नै फरार रहेकोजस्ता समस्या देखिएका बेला झापाको एउटा सहकारी संस्थाले सदस्यका लागि बस्ती निर्माण गरेको छ ।

दमक वडा नं. ४ मा मेची बहुद्देश्यीय सहकारी संस्थाले ५७ वटा दुई तले घरको नमुना बस्ती निर्माण गरेको हो । बस्तीको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उद्घाटन गर्नुभयो ।

सहकारीले चार वर्षअघि ‘मेची सहकारी आवास’ निर्माणको तयारी गरेको थियो । कोरोना महामारीका कारण दुई वर्ष ढिलो गरी २०७८ मा सुरु गरेको निर्माण हालै सम्पन्न भएपछि ५७ वटा घर शेयरधनी सदस्यहरुलाई हस्तान्तरण गरेको सहकारीका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले बताउनुभयो ।

सहकारीले घर निर्माणको प्रस्ताव गर्दा ८० शेयरधनीले किन्ने इच्छा गरेपछि पहिले नाम लेखाएका ५६ जनालाई घर दिएको उनले बताए । ५७ मध्ये एउटा घर भने सहकारीको प्रयोजनका लागि राखिएको छ ।

‘सहकारीले सुरुमा सदस्यहरुका लागि आह्वान गर्यो, ८० जनाले घर किन्ने इच्छा व्यक्त गर्नुभयो,’ बगालेले भन्नुभयो–‘फस्ट कम फस्ट सर्भिसका आधारमा हामीले ५६ परिवारलाई घर उपलब्ध गरायौं ।’

सहकारीले निर्माण गरेका घर कम्पाउण्ड वालसहित एउटै डिजाइनका छन् । दुई तले घरको मूल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्मका छन् ।

जग्गाको क्षेत्रफल थोरै र धेरै भएका आधारमा मूल्य कम र बढी छ । शेयर सदस्यले ऋण लिएर घर किन्न सक्ने व्यवस्था पनि छ । ५६ मध्ये २७ परिवारले सहकारीबाट १२ प्रतिशत ब्याजदरमा २० वर्षे ऋण लिएर घर किनेका छन् ।

‘१२ प्रतिशतबाट ब्याजदर कहिल्यै बढ्दैन,’ बगालेले भन्नुभयो, ‘बजारको ब्याजदर घट्यो भने घट्छ ।’ उनका अनुसार घर खरिद गर्ने सदस्यले सुरुमा कुल लागतको १५ प्रतिशत लगानी गरेपछि सहकारीबाट ऋण पाएका छन् ।

सहकारीले एक बिघा १८ कठ्ठा जग्गा खरिद गरेर घर निर्माण गर्दा २२ करोड ८३ लाख रुपैयाँ खर्च गरेको थियो ।

१२ लाख रुपैयाँ कट्ठाका दरले जग्गा खरिद गरेको सहकारीले दुई तले घर निर्माण गर्न प्रतिघर औसतमा ३३ लाख २५ हजार रुपैयाँ खर्च गरेको उनको भनाइ छ ।

सहकारीका सदस्यले बजार भाउभन्दा धेरै सस्तोमा घर पाएको कार्यकारी प्रमुख बगालेले बताउनुभयो ।

‘सदस्यहरुले बाहिरको बजार भाउभन्दा करिब ४० प्रतिशत सहुलियतमा घर पाउनुभएको छ’, उहाँले भन्नुभयो, ‘यो आवासको काम सकियो, अब मेची आवास–२ सुरु गर्ने तयारी छ ।’

सदस्यहरुको मागका आधारमा नयाँ ठाउँमा मेची आवास–२ सञ्चालन गर्ने उहाँको भनाई छ । 

२०५४ सालमा स्थापना भएको सहकारीले बचत तथा ऋणको कारोबारसँगै आवास र रबर खेती पनि गर्दै आएको छ ।

दमक वडा नं. ७ को १२ बिघा क्षेत्रमा पाथिभरा एग्रो टुरिजम विशिष्टीकृत सहकारी संघमार्फत सञ्चालित रबर खेतीबाट दैनिक एकसय लिटर कच्चा पदार्थ उत्पादन भइरहेको छ ।

१५ हजार शेयर सदस्य रहेको सहकारीले १२ वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ । ३० करोड सेयर पुँजी रहेको सहकारीले यसअघि शेयर सदस्यहरुलाई जग्गा खरिद, सिटी सफारी खरिदमा पनि सहयोग सहयोग गर्दै आएको छ ।

(अनलाइन खबर)