१२ वैशाख २०८१, बुधवार

जग्गा वर्गीकरण सम्पन्न

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो

१२ चैत २०७९, आइतवार
Image

बिर्तामोड, १२ चैत । बिर्तामोड नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । 

आइतबारदेखि बिर्तामोड–१ देखि ५ नम्बर वडा सम्मका जग्गाको कित्ताकाट खुलेको हो । 

नगरपालिकाले जग्गा वर्गीकरणका सम्पूर्ण प्रक्रिया पुरा गरेर ५ वटा वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई यही फागुन २१ गते पत्राचार गरेको थियो । 

कित्ताकाटसँगै सो वडाहरुको जग्गाको विवरण अद्यावधिक गर्ने कार्यसमेत आजदेखि सुचारु भएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए ।

उनले वडा नम्बर ७, ८ र ९ को जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको र वडा नम्बर ६ र १० को भने पुनः सूचना प्रकाशन गरेर अन्तिमरुप दिने तयारी रहेको बताए । 

बिर्तामोड नगरपालिकाको स्थानीय भू–उपयोग परिषदले वडा नम्बर १ देखि १० सम्मका जनताको राय, सुझाव संकलन गरेर वर्गीकरणको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको थियो । 

नगरपालिकाले स्थानीय भू–उपयोग परिषदको सिफारिसमा भू–उपयोग ऐन २०७६ दफा ३३ र स्थानीय कार्य फस्र्योट नियमावली २०७४ दफा ४ ले दिएको अधिकार प्रयोग गरेर जग्गा वर्गीकरण तथा विकास सम्बन्धी कार्यविधि २०७९ जारी गरेको छ । 

यस कार्यविधिमा अब बिर्तामोड नगरपालिका भित्र जग्गा विकास सम्बन्धी योजना लागु गर्दा स्थानीय स्तरका दर्तावाला फर्महरुले आफुलाई प्राप्त अधिकार भित्र रहेर जग्गाको व्यवस्थापन गर्ने र त्यस्ता जग्गाहरुलाई पूर्व अनुमति लिएर मात्रै जग्गाको कित्ताकाट गर्ने कार्यलाई अघि बढाउने उल्लेख गरिएको छ । 

कार्यविधिमा अब कित्ताकाट हुने जग्गाहरुको मोहडा कम्तीमा ३३ फुट र त्यसको ३ गुणासम्म मात्र पछाडि लम्बाई रहने व्यवस्था गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले विगतदेखि रोकिएका जग्गाको कित्ताकाट खुलेपछि किनवेच र आफ्नो घरायसी व्यवहार मिलाउन आफ्नो जग्गा बिक्री गर्न सकिने परिस्थिति बनेको बताए । 

उनले नगरले निर्माण गरेको कार्यविधिमा वर्षमा एक जना व्यक्तिले एउटा जग्गामा तीन पटकसम्म कित्ताकाट गर्न पाउने र बढीमा चार पटकसम्म बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको बताए । 

उनले आफ्नो जग्गाधनी पुर्जाहरु पनि अद्यावधिक गर्नु पर्ने बताए । अद्यावधिक गर्दा जग्गाहरु वर्गीकरण गरिएको क्षेत्रमा राखिने जानकारी दिए ।

नगरपालिकाले प्राप्त गरेको नक्शामा केहि व्यक्तिहरुको जग्गाको विवरण डाटामा समावेश नभएको पनि हुन सक्ने भएका कारण यस्ता नक्शाहरुको विषयमा कार्यालयमा रहेको डिजिटल नक्शालाई हेरेर अमिनले अन्तिम निकास दिने जनाएको छ । 

सरकारले गत जेठमा भू–उपयोग नियमावली लागु गर्दै स्थानीय तहलाई जग्गा वर्गीकरणको अधिकार दिएको थियो । सो नियमावली अनुसार जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरिएको थियो । त्यसमा नेपालको जग्गालाई विभिन्न १० खाले समूहमा वर्गीकरण गरिएको छ ।

ती समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्तिवक महत्व र सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र रहेका छन् ।