१३ वैशाख २०८१, बिहिवार

सहारा हाफ म्याराथन

कीर्तिमानी धावकहरु अतिथिका रुपमा आउँदै

१३ चैत २०७९, सोमवार
Image

बिर्तामोड, १३ चैत । यही चैत २१ गते चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् ।

आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खेलाडीहरुको हौशला बढाउन ७१ वर्षीय मानन्धर र  ६४ वर्षीय लामा आउने भएका हुन् ।

मानन्धरले सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा भएको २२ औँ ओलम्पिकमा पहिलो पटक नेपालको प्रतिनिधित्व गरेका थिए । उनी लगातार चार पटकसम्म ओलम्पिकमा सहभागी हुने एक मात्र नेपाली खेलाडी हुन् ।

पहिलो दक्षिण एसियाली खेलकुदका स्वर्णधारी उनले ४१ वर्षसम्म एकछत्र राज गरेका थिए । नेपाली एथ्लेटिक्सका महापुरुष उनले कोलकातामा भएको तेस्रो साफमा बनाएको दुई घण्टा १५ मिनेटको रेकर्ड अझै पनि कसैले तोड्न सकेको छैन । सो बेला उनी ३६ वर्षका थिए ।

त्यस्तै, लामा साविक मेची अञ्चलको पहिलो धावक हुन् । उनले २०३१ सालमा राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा मेचीको प्रतिनिधित्व गरेका थिए ।

सो प्रतियोगितामा उनी म्याराथनतर्फ दोस्रो भएका थिए भने मानन्धर प्रथम भएका थिए । लामाले पाँच हजार मिटर र १० हजार मिटर भने ट्र्याक दौडिएका थिए । कक्षा ९ को पढाइ सक्ने बेलामा भाग लिएका लामा सो बेला १६ वर्षका थिए ।  

लामा त्यसको दुई वर्षपछि नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा पनि दोस्रो भएका थिए । त्यसपछि भने उनी खेललाई रोक्दै पढाइतर्फ लागे ।

लामा भेट्रान्सतर्फ एसियन १० औँ हुन् । नेपालमा भएको ५० वर्षमाथिको म्याराथनमा उनी प्रथम भएका थिए । त्यस्तै, ताइवानमा भएको ५५ वर्ष उमेर समूहको एसियन प्रतियोगितामा उनी छैटौँ र जापानको प्रतियोगितामा १० औँ भएका थिए ।

लामाका चर्चित गीतहरु आज हाम्रो भेट भएको दिन, बादलुको घुम्टोले, खुट्टा तान्दै गर, चलेछ बतास सुस्तरी लगायतका रचनाकार पनि हुन् ।  

नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

संस्थाको मुल कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक–प्रभुचोक–सांगवेद स्कुल–ओमचोक–कुशलचोक–अर्जुनधाराधाम–वरपीपलचोक–मिलडाँडा–प्रगतिटोल–भाङबारी–तामाङचोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।

प्रतियोगितामा महिला र पुरुषको अलगअलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए ।

त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।