१३ वैशाख २०८१, बिहिवार

संयोजकमा उपप्रमुख संग्रौला

‘सतार’ शब्दको सट्टा ‘सन्थाल’ उपयुक्त

१३ चैत २०७९, सोमवार
Image

मेचीनगर, १३ चैत । झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको संयोजकमा

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई सर्वसम्मत चयन गरेको छ ।

आज समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको विशेष उपस्थितिमा बैठक बसेको थियो ।

बैठकले आगामी समयका लागि उपप्रमुख संग्रौलालाई संयोजकमा सर्वसम्मत चयन गरेको छ । नवनियुक्त संयोजक संग्रौलालाई निवर्तमान संयोजक उप्रेतीले माइन्युटका साथ जिम्वेवारी हस्तान्तरण गरिन् ।

बैठकले निवर्तमान संयोजक उप्रेती, कनकाई नगरपालिकाकी आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाकी रेगिना भट्टराई प्रसाईं, भद्रपुर नगरपालिकाकी राधा कार्की, गौरादह नगरपालिकाकी जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाकी खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाकी नरमाया कार्की सञ्जालको सदस्यमा चयन भएका छन् ।

त्यस्तै सञ्जालको सदस्य रहेका पालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाकी अञ्जु थपलिया, कमल गाउँपालिकाकी प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाकी शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मी मैनाली रहेका छन् । आगामी वैठक आवासियरुपमा इलामको रोङमा गर्ने समितिले निर्णय गरेको छ ।

बैठकमा  मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी र स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले नगरभित्रको शिक्षा र स्वास्थ्यका विषयमा जानकारी गराएका थिए ।

पहिलो बैठकले ६ बुँदे निर्णय गरेको छ । वैठकले सीमान्तकृत सन्थाल समदायको पहिचान र आत्मासम्मानको कदर गर्दै यसअघि लेखिदैँ आएको ‘सतार’ शब्दको सट्टा सन्थाल शब्द प्रयोग गर्ने र नामको पछाडि सम्बन्धित थर नै उल्लेख गर्ने निर्णय गरेको छ ।

झापाका सवै पालिकामा बिषाधियुक्त सागसब्जी, र आयातित माछा तथा मासुजन्य वस्तुको नियन्त्रण गरिने भएको छ । चिया क्षेत्रका समस्या र त्यसको समाधान, लागूऔषधको समस्या बढ्दो रहेको र त्यसको नियन्त्रणमा ध्यान दिने, शिक्षा तथा स्वास्थ्यको नीतिबारे र अन्य विषयमा छलफल भएको थियो ।

नियमित वैठकमा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले भोगिरहेका चुनौति र समस्या तथा  तिनका समाधानका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल भएको थियो । वैठकको संयोजन संवाद समूह झापाले गरेको थियो ।