१२ साउन २०८१, शनिवार

कृत्रिम हात–खुट्टा वितरण

‘कृत्रिम खुट्टा’ लगाएर खेले फुटबल

१५ चैत २०७९, बुधवार
Image

बाहुनडाँगी १५ चैत । मेचीनगर–१४ का अपांगता भएका ५९ वर्षीय हरि मिश्रले ‘कृत्रिम खुट्टा’ पाएपछि खुशी भएका छन् ।

आज मेचीनगर–२, स्थित बौद्वमौडमा आयोजना गरिएको कृत्रिम हात–खुट्टा वितरण कार्यक्रममा मिश्रले ‘कृत्रिम खुट्टा’ पाएपछि दंग परेका थिए । 

‘पहिला जस्तो थियो, अहिले त्यहि महसुश भएको छ’, मिश्रले भने–‘आफुलाई अपांगता भनेर सोच्नु भएन । माइण्ड ठिकमा राख्नु पर्यो । माइण्ड ठिक भएपछि बाँकी कुरा सबै ठिक हुन्छ ।’

उनले विगतमा दुर्घटनामा परेर दाहिने खुट्टा गुमाएका थिए । आज सोहि खुट्टामा कृत्रिम खुट्टा लगाएका थिए । उनको दुवै वटा हात भने जन्मजात नचल्ने रहेछ ।

त्यस्तै संखुवासभाकी १८ वर्षीया करुणा रुचालले देब्रे खुट्टामा कृत्रिम खुट्टा लगाएपछि खुशी देखिएकी थिइन् । उनले पहिला भन्दा यो खुट्टा लगाएपछि केहि सहज महसुश भएको बताइन् । 

कार्यक्रममा कृत्रिम खुट्टा लगाएका केहि अपांगता भएका व्यक्तिहरुले कार्यक्रम स्थलमा नै फुटबल खेल्न थालेका थिए । सो खुट्टाबाट हौसिदैँ फुटबल खेलेका थिए ।

सो कार्यक्रममा ९४ जनाले १०८ वटा कृत्रिम हात–खुट्टा लगाएको ब्रमाण्ड अपांगता र महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताए । उनीहरुलाई कृत्रिम हात–खुट्टाहरु निःशुल्क वितरण गरिएको निरौलाले जानकारी दिए ।

त्यसका लागि रुद्र गौली अम्बिका ओली फाउण्डेशन, ब्रमाण्ड सहकारी, नारायणी सेवा, हरिहर सत्संग धार्मिक विकास संस्थामा आवद्व विभिन्न समाजसेवीहरुले सहयोग गरेको आयोजकले जनाएको छ ।

भारत राजेश्थान स्थित उदयपुरको नारायणी सेवा संस्थाले सो कृत्रिम हात–खुट्टा तयार पारेर ल्याएका थिए । त्यसका लागि कृत्रिम हात–खुट्टा पाउनेहरुको नापजोक यसअघि नै गरिएको थियो । 

कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरले विगतको सम्झिदै भनिन्–‘हाम्रो संस्थाले एकजना अपांगता भएको व्यक्तिको एउटा कृत्रिम खुट्टा लगाउन ब्राजिल पुगेका थियौँ । अहिले यहिँ ९४ जनाले कृत्रिम हात–खुट्टा लगाएको देखेर छक्क परे ।’

कार्यक्रममा प्रमुख अतिथि उपसभामुख राना, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, २ नम्बरका वडाध्यक्ष दिपक बराल, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, भारतको नारायणी संस्थाका अध्यक्ष हरिप्रसाद लद्वा, सचिव ईन्दिरा शर्मा, हरिहर सत्संगका सदस्य मुकुन्द नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ब्रमाण्ड सहकारीका अध्यक्ष सचिन निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालान सल्लाहकार केशरबहादुर वस्नेतले गरेका थिए ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।