१ असोज २०८१, मङ्गलवार

झापामा एसईई

परीक्षार्थी १५,८५८ जनामध्ये छात्रा धेरै

१७ चैत २०७९, शुक्रवार
Image

मेचीनगर, १७ चैत । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । झापामा १५ हजार ८५८ परीक्षार्थी यसमा सहभागी भएका छन् । 

१२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सामेल छन् । जसमा ३ जना दृष्टिविहीन र संस्कृत पढेका ४७ परीक्षार्थी छन् । दृष्टिविहीनका लागि घरपायक परीक्षा केन्द्रको सुविधा दिइएको छ ।

नियमित तर्फ १४ हजार ७२६, प्राविधिक तर्फ ५९९ र ग्रेड वृद्धितर्फ ५३३ परीक्षार्थी एसईईमा सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिश्वकर्माले बताउनुभयो ।

नियमितमध्ये सात हजार ६७२ छात्रा र सात हजार ५४ छात्र छन् । प्राविधिकतर्फ २४६ छात्रा र ३५४ छात्र छन् । ग्रेडवृद्धितर्फ ३१३ छात्रा र २२० छात्र छन् ।

झापामा ५६ वटा केन्द्रमध्ये सबैभन्दा बढी विद्यार्थी दमकको हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा छन् । सबैभन्दा कम कमलको महेन्द्ररत्न माध्यमिक विद्यालयमा छन् ।

परीक्षामा ५६ केन्द्राध्यक्ष, १०४ सहायक केन्द्राध्यक्ष, ७९७ निरीक्षक, १५८ परीक्षा सहायक र ३१७ कार्यालय सहयोगी खटिएका छन् ।