२३ वैशाख २०८१, आइतवार

‘जातीय विभेदमा ‘बर्चश्वशाली’ समूदायको दवदवा’

१८ चैत २०७९, शनिवार
Image

मेचीनगर, १८ चैत । प्रतिनिधि सभाका सांसद सन्तोष परियारले ‘बर्चश्वशाली’ समुदायका कारण जातीय विभेदको अन्त्य हुन गाहे भएको बताएका छन् ।

आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा दलित उत्थान उपभोक्ता समितिले आयोजना गरेको कसरी हुन्छ जातीय विभेदको अन्त्य ? अन्तरक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद परियारले यस्तो कुरा बताएका हुन् ।

‘बर्चश्वशाली समुदाय यस्तो हुन्छ जसले राजनीति, सरकार र राज्यलाई आफ्नो अनुकूलमा राख्छ’,–सांसद परियारले भने ‘नियम, कानुन सबै हुन्छ । तर त्यस्तो समुदाय जसले व्यहारमा विभेद गरिरहेको हुन्छ । जातीय विभेद हरेक तह–तहमा छ । शहरहरुमा भन्दा विभेद बढी गाउँमा छ ।’

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जवसम्म मानिस सामाजिक र आर्थिक रुपमा सक्षम हुँदैन तवसम्म विभेद अन्त्य नहुने जिकिर गरे । उनले दलित समुदायमा मात्र होइन, बाहुन, क्षेत्री र अन्य समूदायमा पनि विभेद छ, यसको अन्त्य गर्न चेतना जगाउन आवश्यक रहेको बताए ।

‘न्यायिक समितिमा जातीय विभेद भयो भनेर १० प्रतिशत मात्र उजुरी आउने गरेको छ’, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले भनिन्–‘जातीय विभेद धेरै गरेका होलान तर, डरले वा अन्य कारणले गर्दा कम उजुरी आउने गरेको छ । समावेशीका नाममा महिलालाई तत्काललाई आरक्षण दिनु ठिक होला । तर, १० वर्षपछि आरक्षण चाहिँदैन । अधिकार मागेर होइन, खोसेर लिनुपर्छ । त्यसका लागि महिलाहरु एकजुट हुनैपर्छ ।’

मेचीनगर–६ की वडा सदस्य सीमा रसाइलीले जातीय विभेद भयो भनेर वडामा अहिलेसम्म उजुरी नआएको बताइन् । उनले समाजमा भेदभाव भएकै हुन्छ । तर, सहेर बस्ने होइन् । विभेद छोपेर राख्ने होइन खुलेरै कुरा राख्नु पर्ने बताइन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासालाई सांसद परियार, सीडीओ पोखरेल र वडा सदस्य रसाइलीले जवाफ दिएका थिए ।

सो कार्यक्रमको सहजकर्ताका रुपमा रिडर्स झापाका सदस्य सागर शिवाकोटीले गरेका थिए । कार्यक्रमको संयोजन मेचीनगर–६ नम्बर वडा कार्यालयले गरेको थियो । 




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।