२२ वैशाख २०८१, शनिवार

बस्तुगत संघहरुको ‘साझा उम्मेद्वार’ बने ढकाल

१९ चैत २०७९, आइतवार
Image

विर्तामोड, १९ चैत । झापाका उद्योगी व्यवसायीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत संघतर्फको उपाध्यक्ष पदका उम्मेद्वार हेमराज ढकाललाई ‘साझा उम्मेद्वार’ घोषणा गरेका छन् ।

उहाँ हाल महासंघको केन्द्रीय सदस्य ढकाल नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा उपाध्यक्ष पदको सशक्त दावेदार हुनुहुन्छ ।

भद्रपुर निवासी उहाँ एसियाकै सबैभन्दा ठूलो गार्मेन्ट उद्योगको रुपमा एक दशक अघि चिनिएको मोमेन्टो एपरेल्सको सञ्चालक, झापा टी इस्टेटको प्रबन्ध निर्देशक र एक्सेल डेभलपमेन्ट बैंकको पूर्व अध्यक्ष हुनुहुन्छ । 

यही चैत २८ र २९ गते काठमाडौंमा महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । 

महासंघको अध्यक्ष पदमा चण्डीराज ढकाल निर्वाचित भएको लामो अवधिपश्चात पहिलोपल्ट झापाका उद्यमीले उपल्लो तहको जिम्मेवारीमा उम्मेद्वारी दिएको पहिलोपल्ट भएकाले उहाँलाई जिताउन झापाका उद्योगी व्यवसायीहरु एकजुट भएर लागेको नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार अग्रवालले बताउनुभयो ।

संघले आज विर्तामोडमा पत्रकार सम्मेलन गरी ढकाल साझा उम्मेद्वार भएको जानकारी गरायो ।

सो अवसरमा नेपाल चिया उत्पादक संघ, नेपाल इँटा महासंघ, नेपाल भेनियर महासंघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात संघ, नेपाल अलैची व्यवसायी महासंघ, झापा उद्योग संघ र नेपाल अदुवा व्यवसायी संघले उपाध्यक्षका उम्मेद्वार ढकाल बस्तुगत संघहरुको साझा उम्मेद्वार भएको भन्दै जिताउने अभियानमा ऐक्यवद्धता जनाउका थिए ।

नेपाल चिया उत्पादन संघको केन्द्रीय समितिको पूर्ण बैठकले झापाका चिया उद्यमी समेत रहनु भएको ढकाललाई महासंघको उपाध्यक्ष (बस्तुगततर्फ) पदको सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको थियो ।

संघका अध्यक्ष अग्रवालले चिया उत्पादक तथा व्यवसायीहरुको समस्या समाधानका लागि सरकारसम्म बुलन्द रुपमा आवाज पुर्याउन सक्ने एकमात्र नेता ढकाल भएको बताउनुभयो ।

नेपालमा रहेका १२३ वटा बस्तुगत संघले ढकाललाई जिताउने अभियानमा समर्थन जनाएको नेपाल भेनियर महासंघका महासचिव दिपक पाण्डेले दावी गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उपाध्यक्ष पदमा कोशी पहिलोपल्ट झापाको दावी आएको बताउँदै उहाँलाई जिताउने अभियानमा ऐक्यवद्धता व्यक्त गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य ताराप्रसाद घिमिरे लगायतले ऐक्यवद्धता मन्तब्य व्यक्त गर्नुभएको थियो ।