१ असोज २०८१, मङ्गलवार

अपाङ्गतालाई स्वरोजगार बनाउन तालिम

२० चैत २०७९, सोमवार
Image

झापा, २० चैत  । अपाङ्गताहरुको सीप बृद्धि गरी स्वरोजगार बनाउने उद्देश्यले विर्तामोड अपाङ्गता स्वालम्बन संस्थाले सात दिने तालिम दिइरहेको छ ।

दृष्टिविहीन, श्रवणविहीन र अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई समेटेर विर्तामोड नगरपालिका-४ मा घरेलु तथा साना उद्योग कार्यालय झापाको आर्थिक सहयोगमा तालिम दिइएको हो ।

संस्थाले झोल, साबुन, फिनेल, कुलिन र हार्पिक बनाउने तालिम शनिबारबाट दिइरहेको संस्थाका अध्यक्ष दीपक थापाले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिलाई समाजमा स्वाभिमानपूर्वक बाँच्न सक्ने बनाउन तालिम दिइएको बताउनुभयो । 

संस्थाले सन्तोष श्रेष्ठद्घारा ती सामाग्री बनाउन सिकाइरहँदा श्रवणविहीनहरुका लागि दोभाषे कञ्चन सापकोटाले सहजीकरण गरिरहनुभएको छ । “समाजमा अपाङ्गता भएका व्यक्तिहरुले केही गर्न सक्दैनन् भनेर हेयको भावले हेर्छन्”, सचिव हरिप्रसाद अधिकारी भन्नुहुन्छ, “ त्यसलाई चिर्न पनि सीप सिकाएर सापाङ्गले झै समाजमा आत्मनिर्भर बनाउन सक्ने बनाउँछौं ।”

उहाँले संस्थाले अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनमूलक तालिमहरु विगतदेखि नै प्रदान गर्दै आएको बताउनुभयो ।