१३ वैशाख २०८१, बिहिवार

सहारा हाफ म्याराथन

अन्तर्राष्ट्रिय पदकधारी पनि दौडिदैँ

२० चैत २०७९, सोमवार
Image

झापा, २० चैत । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की महिलातर्फ रजत पदक विजेता पुष्पा भण्डारी सहारा हाफ म्याराथनमा भाग लिन आउने भएकी छन् ।

नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनकी स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा हाफ म्याराथनमा भाग लिने भएकी छन् ।

भण्डारीले प्रथम बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जित्दै १३ औँ सागको टाइमिङ तोडेकी थिइन् ।

प्रतियोगितामा भेट्रान्स कीर्तिमानी धावक धर्म महर्जन पनि सहभागी हुने भएका छन् । ५० वर्षीय उनी हाफ म्याराथनमा सहभागी हुने भएका हुन् ।

यसैबीच, सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु रघुराज वन्त, डम्बर कँवर, मेनुका राउत र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् ।

खेलाडीहरुको हौशला बढाउन उनीहरु चारपानेमा अन्य खेलाडीसँगै अप्रतियोगीका रुपमा केही समय दौडिने छन् । उनीहरुलाई प्रतियोगिताको समापन कार्यक्रममा सम्मान पनि गरिनेछ ।

सहारा हाफ म्याराथन मंगलबार बिर्तामोडको चारपानेमा हुँदैछ । सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।