२ कार्तिक २०८१, शुक्रवार

असिना पानीले सुकुमबासीको घरको छानामा प्वाल

२१ चैत २०७९, मङ्गलवार
Image

बिर्तामोड, २१ चैत । बिर्तामोड नगरपालिकाले शुक्रबार राति आएको हावाहुरीसहितको असिना पानीले पुर्याएको क्षतिको अनुगमन गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सोमबार बिर्तामोड–१० मा पुगेर त्यहाँको अवस्थाको बारेमा अनुगमन गरेकी हुन् । असिना पानीले अधिकांशको घरको छाना र कृषि बालीमा ठुलो क्षति पुर्याएको छ ।

नगर प्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले तेलगानी टोलमा रहेको सुकुमबासी वस्ती लगाायतका विभिन्न टोलमा पुगेर क्षतिको बारेमा जानकारी लिएका थिए । नगर प्रमुख प्रसाईले टोल विकास संस्थामार्फत जतिसक्दो चाँडौ विवरण संकलन गर्न आग्रह गरिन् ।

अनुगमनका क्रममा सुकुमबासी वस्ती र बाँकी रहेका टोलमा रहेका अधिकांश घरहरुको छानो उडाएको, प्वाल परेको पाइएको छ । उनीहरुलाई तत्कालका लागि राहत स्वरुप त्रिपाल वितरणका लागि आवश्यक तयारी गरिएको नगर उपप्रमुख संग्रौलाले जानकारी दिए ।

असिना पानीले मकै, तरकारी र केरा बगानमा ठुलो क्षति पुर्याएको छ । वडा नम्बर १० मा मात्रै करिब एकसय १५ विगाह क्षेत्रफलमा मकै नष्ट भएको नगरका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताए ।

उनले कृषि ज्ञान केन्द्रसँगको समन्वयमा असिना प्रभावित क्षेत्रमा गुगल म्याकिङ गरेर वास्तविक तथ्याङ्क संकलनको काम भईरहेको बताए । बिर्तामोडको वडा नम्बर २, ८, ९ र १० मा असिनाले क्षति पुर्याएको छ ।

प्रभावित किसानहरुले क्षतिको विवरण संकलन गरेर राहतको व्यवस्था मिलाउन जनप्रतिनिधिहरुसँग माग गरेका छन् । सरकारले यसअघि धानमा भएको क्षतिको राहत नदिएको गुनासो गर्दै उनीहरुले यस पटक भने त्यसो हुन नदिन आग्रह गरेका छन् । 

बिर्तामोड लगायत झापाका अधिकांश पालिकाले धानमा भएको क्षतिको विवरण संघिय सरकारलाई पठाएको र सरकारले बैंक खाता खोल्नसमेत लगाएर वेवास्था गर्दा कृषक मर्कामा परेका छन् । 

बिर्तामोड नगरपालिकाले आइतबार वडा नम्बर २ मा  राहत स्वरुप ८० थान त्रिपाल वितरण गरेको छ  ।



सम्बन्धित खबर