१६ चैत २०८०, शुक्रवार

ज्योति मगरले तताइन् मेची महोत्सव

२३ चैत २०७९, बिहिवार
Image

धुलाबारी, २३ चैत । व्यापार प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले आयोजित ‘प्रथम मेची महोत्सव’को १५औँ दिन बुधबार विहानैदेखि दर्शकको घुइँचो थियो । 

महोत्सवका अन्य दिनभन्दा यसदिन दर्शकको घुइँचो बढ्नुको कारण थियो नेपाली लोकगीतका हट गायिकाको छवि बनाएकी ज्योति मगरको प्रस्तुति ।

ज्योतिको प्रस्तुति हेर्न दर्शकको दिउँसो देखिनै ओइरो थियो । ज्योति स्टेजमा चढ्ने बित्तिकै महोत्सवका अन्य आकर्षणमा भुलिरहेका दर्शकहरू स्टेज छेउछाउ भेला भए । र उनीसँगै कमर मकाई–मकाई नाच्न थाले । 

राति करिव ८ बजे गायिका ज्योति मगर स्टेज चढेकी थिइन् । छोटो पहिरनमा ज्योति स्टेजमा उत्रिएपछि महोत्सवमा तरंग छायो । दर्शकको लगातारको हुटिङसँगै उनले करिव २ घण्टा स्टेज तताइन् । यो समयावधिमा उनले कान्छी मुसुक्क, नाकको फुली टिलिक्क टल्केको जस्ता आधा दर्जन गीत प्रस्तुत गरिन् । 

राष्ट्रिय गायक–गायिकाको प्रस्तुति मात्र होइन, महोत्सवमा स्थानीय तथा प्रदेशस्तरीय कलाकारहरुको पनि वेजोड प्रस्तुतिले दर्शकलाई झुमाउन सफल रहेको छ । त्यसैले अहिलेसम्म ३० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरिसके महोत्सव मुल आयोजक समितिका संयोजक रविन वस्नेतको दावी छ । 

महोत्सवको १६ औँ दिन आज (विहीबार) चर्चित गायक जीवकको प्रस्तुति रहेने छ । यही चैत ६ गतेदेखि मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीको कोलनीमा मेची चेम्बर अफ कमर्सले सञ्चालन गरिरहेको महोत्सवमा व्यापार, कृषि, धुलाबारी बजारको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले महोत्सव आयोजन गरिएको संयोजक वस्नेतले बताए । 

‘वर्षाका कारण ४ दिनसम्म महोत्सव सञ्चालन हुन सकेन’, वस्नेतले भने–‘विद्यार्थीहरुको परीक्षा भइरहेको छ । परीक्षा सकिएपछि थप २÷३ दिन चलाउन अनुमति लिने तयारी भइरहेको छ ।’

महोत्सवमा चर्चित कलाकारहरु प्रमोद खरेल, शिव परियार, एलिना चौहान, मेलिना राई, अस्मीता अधिकारी, आस्था राउत, प्रिति पास्वान लगायतका राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिइसकेको कमर्सकी अध्यक्ष रुकमिणा आर्चाय पोखरेलले बताइन् । 

कमर्सका महासचिव प्रकाश खड्काका अनुसार पचास भन्दा बढी स्टल रहेको महोत्सवमा राष्ट्रिय कलाकारको कार्यक्रम हुँदा २०० र अन्य कलाकार आउँदा १०० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । असहाय, अपांगता र ज्येष्ठ नागरिकहरुलाई प्रवेश शुल्क निःशुल्क गरिएको खड्काले बताए । 

महोत्सवको आयोजकको रुपमा मेची चेम्बर अफ कमर्स र सहआयोजक धुलाबारी रोलिङ क्लब रहेको छ ।





लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।