४ वैशाख २०८१, मङ्गलवार

मनोक्रान्ति अभियन्ता विकासानन्दले झापामा प्रवचन दिने

२४ चैत २०७९, शुक्रवार
Image

झापा, २४ चैत । चर्चित आध्यात्मिक साधक एवम् मनोक्रान्ति अभियानका प्रवर्तक डा. योगी विकासानन्द आगामी वैशाख २२ गते झापा आएर प्रवचन दिने हुनु भएको छ ।

विर्तामोडको डोमालाल रंगशालामा उहाँले हजारौं सहभागी सामू ध्यान, तपस्या, हिप्नोसिस र मनोक्रान्ति बारेमा विशेष मन्तब्य दिनुहुने कार्यक्रमको आयोजक विकासानन्द फाउन्डेसन विश्व परिवार झापाले जनाएको छ ।

फाउन्डेसनले आज विर्तामोडको ड्रिमलेन्ड पार्कमा पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो ।

उहाँको प्रवचन सुन्नका लागि बीसौं हजारको संख्यामा शिक्षक, विद्यार्थी, कर्मचारी, व्यापारी, प्रहरी, स्काउट, डाक्टर, नर्स, जनप्रतिनिधि, पत्रकार लगायतलाई निमन्त्रणा गरिएको आयोजक विकासानन्द फाउन्डेसन विश्व परिवार झापाका सचिव बिजय बरालले बताउनुभयो ।

कार्यक्रममा योगी विकासानन्दलाई नागरिक अभिनन्दन र चार जना विभिन्न प्रतिभालाई सम्मान गरिने समेत बरालले जानकारी दिनुभयो ।

पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरीका साथै भारत र भूटानबाट समेत शुभचिन्तकहरु कार्यक्रममा सहभागी हुन आउने समितिकी संयोजक मेहर मगरले बताउनुभयो ।

मनोक्रान्तिका अभियन्ता विकासानन्दको झापाको यो कार्यक्रम ऐतिहासिक रुपमा सफल हुने मनोक्रान्तिका अभियन्ता गजेन्द्र नेम्वाङले बताउनुभयो । कार्यक्रममा सहभागी हुन वैशाख २१ गते विकासानन्द झापा आउने र वैशाख २३ गते काठमाडौ. फर्किने समेत उहाँले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा कार्यक्रममा सल्लाहकार जयनारायण ढुंगानाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सूर्योदय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने बताइएको छ भने सहकारी अभियन्ता महेन्द्र कुमार गिरी, सामाजिक अयिभन्ता गजेन्द्र पौडेल, समाजसेवी जलकुमार गुरुङ, रञ्जु प्याकुरेल लगायतलाई सल्लाहकार चयन गरिएको छ ।

कार्यक्रमको उद्घाटन उपसभामुख इन्दिरा रानामगरले राष्ट्रिय झण्डा फहराएर गर्नुहुने बताइएको छ ।