२२ वैशाख २०८१, शनिवार

बिजनेस

अदुवा, अलैची र प्लाइउडको निर्यात बढ्यो

२६ चैत २०७९, आइतवार
Image

झापा, २६ चैत । नेपालको अदुवा, अलैची र प्लाइउडको भारत निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएको आधारमा निर्यात बढेको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु. ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार ६९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ ।

जबकि, गत आव २०७८/०७९ को सोही आठ महिनाको अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट रु. १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार ५०० केजी अदुवा र सुठो भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने रु. ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको एक करोड एक लाख ७८ हजार १५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो ।

यसैगरी, चालू आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु. पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार ३७४ केजी अलैची भारत निर्यात भएको छ ।

गत आव २०७८/०७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु. तीन अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । उक्त आवको १२ महिनामा भने रु. चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार ४४२ केजी अलैची भारत निकासी भएको थियो ।

मेची भन्सार कार्यालयले जनाए अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु. एक अर्ब १० करोड ९१ लाख मूल्य बराबरको तीन करोड ६८ लाख ६८ हजार ६०६ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ ।

गत आव २०७८/०७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु. २९ करोड सात लाख चार हजार मूल्य बराबरको चार लाख ६४ हजार ४५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने रु. १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार ८२२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।

पूर्वी पहाडका जिल्लामा अलैची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश झापा जिल्लामा रहेका भए तापनि यसको कच्चा पदार्थको रुपमा प्रयोग हुने रुखहरु भने पहाडी जिल्लाबाटै आउने गरेको छ ।