१२ साउन २०८१, शनिवार

स्वास्थ्य

बीएन्डसीपछि आर्या न्यूरोमा डा. पंकजले गरे दुर्लभ शल्यक्रिया

२९ चैत २०७९, बुधवार
Image

विराटनगर, २९ चैत । विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलोपटक ‘पाईका एन्युरीज्म क्लिपिङ’को सफल शल्यक्रिया भएको छ । 

मुटुमा आरएचडी रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको सफल उपचारलाई चिकित्सा क्षेत्रमा दुर्लभ उपलब्धि मानिन्छ ।

झापाको हल्दीबारी गाउँपालिका वडा १ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडि भागमा रहेको पाईका एन्युरीज्म क्लिपिङको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरले जानकारी दिनुभयो ।  

तीन हप्ता अघि टाउको दुखाईले पीडा भएपछि कटुवाल उपचारका लागि सुरुमा भद्रपुरस्थित प्रादेशिक अस्पताल र पाथिभारा हस्पिटल जानु भएको थियो । त्यहाँबाट विराटनगर जान चिकित्सकहरुले सुझाव दिएपछि उहाँलाई आर्या न्यूरो हस्पिटलमा चैत ८ गते भर्ना गरिएको थियो । 

आर्यामा आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालले विरामीको स्वास्थ्य जाँच गर्नुभएको थियो । एमआरआइ गरेपछि कटुवालको ‘पाईका एन्युरीज्म’ भएको पत्ता लागेको थियो । 

चैत १२ गते डा. नेपालको नेतृत्वको टिमले कटुवालको मतिष्तक भित्र भएको ‘पाईका एन्युरीज्म क्लिपिङ’को सफल शल्यक्रिया गरेको थियो । 

टाउकोमा रगत जमेको अवस्थालाई मेडिकल भाषामा पाईका एन्युरीज्म भन्ने गरिन्छ । रगतको नशामा फुकुन्डो हुन्छ । त्यो फुटो भने हेमोरेज हुन्छ । ‘जटिल ठाउँमा भएकोले हामीले चार घण्टा लगाएर सफल शल्यक्रिया गरिम्,’ उपचारमा संलग्न डा. नेपालले भन्नुभयो, ‘यसको उपचार समयमै गरेन भने विरामीलाई बचाउन गाह्रो हुन्छ । जे होस् उहाँ बेलैमा आइपुग्नुभयो र उपचार सम्भव भयो ।’

डा. नेपालले चिकित्सा जीवनमा पाईका एन्युरीज्म क्लिपिङको दोस्रोपटक सफलतापूर्वक शल्यक्रिया गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि मैले विर्तामोडको बीएन्डसीमा यस्तो शल्यक्रिया गरेको थिए । आर्या न्यूरोमा चाहिँ पहिलो केस हो ।’ 

बीस दिन राखेर सफल उपचार भएपछि सोमबार विरामीको डिस्चार्ज भएको छ । दिदीको सफल उपचार भएपछि विरामीका बैनी मुना भण्डारी दाहालले उपचारमा खटेका चिकित्सक र हस्पिटल परिवारलाई धन्यवाद दिनुभयो । ‘हस्पिटल ल्याउँदा दिदीको अवस्था एकदमै नाजुक थियो । यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर तीन हप्तासम्म उपचार गरेपछि ठिक हुनुभएको छ,’ डिस्चार्ज भएपछि मुना भन्नुभयो,’ ‘अहिले दिदी राम्रोसँग हिँडडुल गर्न सक्ने हुनुभयो । मज्जाले बोल्न सक्ने हुनुभएको छ ।’ 

आर्या न्यूरो हस्पिटलमा दिदीले नयाँ जीवन पाएको उहाँले सुनाउनुभयो ।

मन्जु कटुवाल ।