२२ वैशाख २०८१, शनिवार

अध्यक्षले रकम हिनामिना गरेपछि मयुर सहकारी संकटग्रस्त

२९ चैत २०७९, बुधवार
Image

मेचीनगर, २९ चैत । बिर्तामोड–५ को मयुर बचत तथा ऋण सहकारी संस्था सञ्चालकले रकम हिनामिना गरेपछि बचतकर्ता आक्रोशित भएका छन् । पीडितहरुले कानूनी कार्वाही गरी बचत रकम फिर्ता दिलाइदिन प्रशासन समेत गुहारेका छन् । 

सञ्चालकहरुले बचतकर्ताको रकम फिर्ता दिनुको साटो १५ दिनदेखि कार्यालय नै बन्द गरेका छन् ।

सहकारीका अध्यक्ष एवम् प्रवन्धक दमक निवासी दिनेश घिमिरेले सदस्यको बचत रकम हिनामिना गर्नु भएको पीडितहरुको आरोप छ । 

बचतकर्ताको एउटा समूहले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रशासनको निर्देशनमा मंगलवार दुबै पक्ष छलफलमा जुटेका थिए ।

छलफल क्रममा सहकारीका अध्यक्ष घिमिरेले एकैचोटी बचतकर्ताको रकम फिर्ता गर्न नसकिने जनाउँदै क्रमशः तीन महिनाभित्र फिर्ता गर्ने कबुल गर्नुभएको छ ।

ईप्रका अनारमनीमा भएको छलफलमा घिमिरेलाई बचतकर्ताहरुले र्याख्र्याख्ती पारेका थिए । 

स्रोतका अनुसार सो सहकारीले ११ वर्षसम्म बैंक खाता नखोलेको पाइएको छ । संस्थापक बताउने अध्यक्ष घिमिरेले आफ्नै व्यक्नितगत खातामा संस्थाको बचत रकम राख्ने र झिक्ने काम गर्दै आउनु भएको थियो । घिमिरेले धितो बन्धक समेत आफ्नै नाममा राजीनामा पास गर्ने गरेको बचतकर्ताहरुको आरोप छ ।

यही फागुन २३ गतेसम्मको अभिलेख अनुसार सहकारीको नाममा रु. ३ करोड १२ लाख व्यालेन्स सिट देखिएको छ भने संस्थामा रु. २ करोड १८ लाख बचत र रु. २ करोड २७ लाख ऋण लगानी भएको देखिन्छ । 

बचतकर्ता अर्जुन थापाले तीन महिनामा रकम फिर्ता गर्ने सहमतिको कागजमा अध्यक्ष घिमिरेले सहीछाप गर्नुभएको बताउनुभयो ।