८ वैशाख २०८१, शनिवार

उपचारमा खर्च गर्दा सबै जायजेथा सकियो

२ वैशाख २०८०, शनिवार
Image

मेचीनगर, २ बैशाख । आर्थिक अवस्था कमजोर रहेका मेचीनगर–७ का क्यान्सर संक्रमित ७० वर्षीय धनबहादुर खत्रीको उपचारका लागि सहयोग गर्न परिवारजनले अपिल गरेका छन् ।

प्यारीभिट्टा घर भएका खत्री घाँटीको क्यान्सरबाट संक्रतित हुनुहुन्छ । बिगत पाँच महिनादेखि उपचारमा खर्च गर्दा भएको सबै जायजेथा सकिएपछि उहाँकी छोरी तारा तिम्सिनाले थप उपचारका लागि सहयोग गरिदिन सार्वजनिक अपिल गर्नु भएको हो ।

पाँच महिना अघि घाँटीको घाँटीको बाहिरपट्टि सानो फोको देखिएपछि उहाँलाई परिवारले उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन लगेका थिए ।

अस्पतालका चिकित्सकले उहाँलाई क्यान्सर लागेको र थप उपचारका लागि भरतपुर लैजान सल्लाह दिएका थिए । चिकित्सककै सल्लाहमा भरतपुर र पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडमा उहाँको उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर रहेको परिवारले पाँच महिनामा उपचारमा करिब सात लाख बढी खर्च भइसकेको छोरी तारा तिम्सिनाले बताउनुभयो । 

“हामीसँग भएको सबै सम्पत्ति उपचारमा सकियो, सरकारबाट पाउने एक लाखको पनि औषधि गराइसक्यौं”, धुलाबारी मोडमा चिया पसल चलाउँदै आउनु भएकी तिम्सिनाले भन्नुभयो, “आर्थिक सहयोग गरेर मेरो बुबालाई बचाईदिनुस् ।”

उहाँका अनुसार विगतमा १० वटा जति केमोथेरापी गराउँदा उहाँलाई आराम भएको थियो । “डाक्टरले अब १० वटा फेरि रेडियोथेरापी गराउनुपर्छ जाति हुन्छ भन्नुभएको छ”, उहाँले भन्नुभयो, “त्यति गराउन रु. दुई लाख तत्काल चाहिने भयो । हामीसँगै पैसा छैन कहाँबाट ल्याउनु ?” 

उहाँले सबैको सहयोग पाए आफ्नो बुबालाई बचाउन सकिने बताउनुभयो ।