२३ भदौ २०८१, आइतवार

झापाका नौ वटै दमकल सतर्क अवस्थामा

५ वैशाख २०८०, मङ्गलवार
Image

झापा, ५ वैशाख । गर्मी तथा सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने भएकाले झापाको दमकल सेवा सतर्क अवस्थामा छन् । जिल्लामा नौ वटा दमकल चालु अवस्थामा छन् ।

सहरी जनघनत्व बाक्लो भएको विर्तामोडले दमकल सेवालाई जुनसुकै बेला प्रयोगमा ल्याउन सकिने गरी सतर्क अवस्थामा राखेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद न्यौपानेले बताउनुभयो ।

ठूला हस्पिटलहरु, शिक्षण संस्थाहरु, व्यापारिक भवनहरु समेत रहेको विर्तामोडमा दुई वटा बारुणयन्त्र आवश्यक छ । अहिले एउटाले काम चलाइरहेको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले अर्को किन्ने तयारी हाललाई नभएको बताउनुभयो ।

गर्मी र सुख्खा यामसँगै आगलागीका घटना हुने जोखिम हुन्छ । घर, उद्योग लगायतका भौतिक संरचनामा लागेको आगो निभाउन बारुणयन्त्र प्रभावकारी मानिन्छ । बारुणयन्त्र नभएको अवस्थामा आगलागीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याउने गरेको छ ।

झापा जिल्लाका सात पालिकासँग दमकल सेवा रहेको छ । जिल्लामा आठ वटा नगरपालिकामध्ये छ वटासँग र सात गाउँपालिकामध्ये एउटासँग दमकल सेवा छ । 

दमकल सेवा भएका नगरपालिकाहरुमा मेचीनगर, विर्तामोड, भद्रपुर, गौरादह, शिवसताक्षी र दमक हुन् । कमल गाउँपालिकामा पनि बारुणयन्त्र रहेको छ ।

यसैसाता मध्य झापाको शिवसताक्षी नगरपालिकाले बारुणयन्त्र खरिद गरेर ल्याएको छ । नगरको आफ्नै कोषबाट रु. ६० खर्चेर बारुणयन्त्र ल्याउँदा नगरमा खुशीयाली छाएको नगरप्रमुख मेघाहाङ थोप्राले बताउनुभयो ।

बिगतमा आफ्नै दमकल नहुँदा र बाहिरबाट ढिलो आएको दमकलले बेलैमा आगो निभाउन नसक्दा शिवसताक्षी क्षेत्रमा मानवीय तथा भौतिक क्षतिका भयावह घटना भएका थिए ।

“नगरप्रमुखको रुपमा पहिलो निर्णयमै मैले दमकल ल्याउँछु भन्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ,” नगरप्रमुख थोप्राले भन्नुभयो–“नगरबासीको चाहना र जनप्रतिनिधिको पहलबाट अहिले दमकल ल्याउन सफल भएका छौं ।” 

जनघनत्व ज्यादा भएका मेचीनगर र दमक नगरपालिकामा दुई दुईवटा दमकल रहेका छन् । मेचीनगर नगरपालिकाले गत महिना मात्रै एउटा दमकल थप गरेको हो । बिगत दुई वर्षमा मेचीनगकै काँकरभिट्टाको चप्पलजुत्ता कारखाना, दुहागढीको मगमग चाउचाउ र ज्यामिगरढीको ब्रिगेट कोइला उत्पान गर्ने उद्योगमा आगलागी हुँदा करोडौंको धनमाल क्षति भएको भने काँकडभिट्टामा खाना पकाउने ग्यास पड्किदा जनधनको क्षति भएको थियो ।

मेचीनगरसँग भएका पुराना दुई वटा दमकलमध्ये एउटा थोत्रिएर कवाडीमा परिणत भएपछि एउटा मात्र यन्त्रले स्थानीय आवश्यकता धान्न सकेको थिएन । त्यहीकारण नगरपालिकाले एउटा दमकल हालै खरिद गरेर चालू अवस्थामा दुईवटा दमकल राखेको हो ।

झापामा सबैभन्दा पुरानो नगरको रुपमा चिनिएको भद्रपुरमा रहेका दुईवटा दमकलमध्ये एउटा मात्र चालू अवस्थामा छ । एउटा थोत्रिएर थन्काइएको छ । 

हल्दिबारी गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेले आर्थिक स्रोत थोरै भएका कारण आवश्यकता हुँदहुँदै पनि दमकल खरिद गर्न नसकिएको बताउनुभयो । भद्रपुर र विर्तामोडबाट आउने दमकलले भैपरिआउँदा हल्दिबारीमा आगो निभाउने गर्दै आएका छन् । एउटा दमकल अनुदानमा पठाइदिनका लागि गाउँपालिकाले गृहमन्त्रालयमा अनुरोध गरिरहेको उहाँले जानकारी दिनुभयो । 

दमकल नभएको नगरपालिका कनकाई र अर्जुनधारा हुन् भने बुद्धशान्ति, बाह्रदशी, झापा, कचनकबल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकासँग दमकल छैनन् ।