२२ वैशाख २०८१, शनिवार

विर्तामोडमा ‘बिजनेस टावर’ बनाउन हटियामा डोजर लाग्ने त्रास

७ वैशाख २०८०, बिहिवार
Image

विर्तामोड, ७ वैशाख । विर्तामोड नगरपालिकाले बुधवारे हटियामा रहेको सबै घरटहरा हटाएर बहुतले आधुनिक व्यापारिक भवन बनाउने भएको छ ।

वडा नं. ५ मा रहेको २१ कठ्ठा क्षेत्रफलको सो स्थानलाई देवीहाट भनेर चिनिन्छ । देवीप्रसाद प्रसाईको नाममा दानमा प्राप्त भएको जग्गा भएकाले सो बजारलाई ‘देवीहाट’ भन्ने गरिएको हो । नगरपालिकाले बनाउने भनिएको बहुतले व्यापारिक भवनको नाम पनि ‘देवी भवन’ राखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले अस्थायी संरचना हटाएर सो स्थानमा आधुनिक बहुतले व्यापारिक भवन बनाउने योजनामा नगरपालिका अघि बढिसकेको बताउनुभयो । 

यही वैशाख ४ गते नगरपालिकाले तेस्रोपटक सार्वजनिक सूचना प्रकाशित गरेर त्यहाँका सम्पूर्ण घरटहरा खाली गर्न दश दिने म्याद जारी गरेको छ । म्यादभित्र नहटाइएमा नगरपालिका आफैले बल प्रयोग गरेर ठाउँ खाली गराउने नगरको चेतावनी छ ।

“बुधबारे हटिया खाली गरिदिन सूचना जारी गरिसकेका छौं,” प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो–“अन्यथा कानून बमोजिम सम्पूर्ण घरटहरा हटाउनेछौं र त्यसमा लागेको खर्च समेत सम्बन्धित व्यक्तिहरुबाटै असुल्नेछौं ।” उहाँले कुनै धनमाल क्षति हुन गएमा नगरपालिका जवाफदेही नहुने बताउनुभयो ।

सो स्थानमा ७२ वटा अस्थायी संरचना बनेका छन् भने सय वटा जति आफुखुशी टहरा बनाइएको अनुमान छ । कुनै मध्यमार्गी सहमतिको बाटो ननिस्किएमा सो हटियामा नगरपालिकाको डोजर लाग्ने सम्भावना बढेको छ । 

डीपीआरको प्रक्रियामा रहेको सो आधुनिक भवन चार तलाभन्दा अग्लो हुने र भूमिगत दुईतलालाई सुविधायुक्त गाडी पार्किङ स्थल बनाइने भनिएको छ ।

नेपाल सरकारको नगर विकास कोषबाट रु. एक अर्ब सहुलियत कर्जा तथा अनुदान लिएर विर्तामोड नगरपालिकाले बहुतले व्यापारिक भवनको योजना अघि बढाएको हो ।

नगरको कार्यपालिकाबाट नयाँ भवन बनाउने र नगर विकास कोषबाट कर्जा लिने सम्बन्धी निर्णय भइसकेको छ । तर, अस्थायी घरटहरा बनाएर गुजारा चलाइरहेका स्थानीयबासीले भने नगरपालिकाले जबर्जस्ती हटाउन खोजेको भन्दै विमति जनाएका छन् ।

उनीहरु बहुतले भवनमा ठूला व्यापारी आउने र आफुहरुले व्यवसायबाट हात धुनुपर्ने अवस्था आउने भन्दै नगरको योजनाप्रति असन्तुष्टि प्रकट गरिरहेका छन् ।