२२ वैशाख २०८१, शनिवार

बिर्तामोडमा बिजनेस टावर

विकल्प नदिई हटाए द्वन्द्व चर्किन्छ : राप्रपा

७ वैशाख २०८०, बिहिवार
Image

विर्तामोड, ७ वैशाख । बिजनेस टावर बनाउन बुधबारे हटिया खाली गराउने विर्तामोड नगरपालिकाको निर्णयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जनाएको छ । 

रापप्राको विर्तामोड नगर समितिकी अध्यक्ष रञ्जु प्याकुरेलले हटियामा सानो व्यवसाय गरेर जीविका चलाइरहेका सयौं नगरबासीलाई विकल्प नदिई खाली गराउने कार्यले द्वन्द्व चर्काउने बताउनुभयो ।

लोकतन्त्र पोस्टसँग आज प्रतिक्रिया व्यक्त गर्दै उहाँले हाल व्यवसाय गरिरहेकाहरुसँग सहमति नगरी सो स्थान खाली गराउने कार्य गलत हुने धारणा व्यक्त गर्नुभयो ।

“सर्वदलीय बैठकमार्फत पनि नगरपालिका नेतृत्वलाई हाम्रो पार्टीले अन्यत्र उचित व्यवस्थापन नगरी नहटाउन सुझाव दिएको थियो,” उहाँले भन्नुभयो–“आर्थिक मन्दीका कारण आम नागरिक बिचल्लीमा परिरहेका बेला व्यवसाय गरिरहेको ठाउँबाट उठिबास लगाउने कार्य गरिनु हुँदैन भनेर हामीले भन्दै आएका छौं ।”

उहाँले व्यापारिक भवन बनाउनै परे त्यहाँका व्यवसायीलाई वैकल्पिक स्थानको व्यवस्था गर्न र कर्जाको साटो अनुदान लिएर बनाउन राप्रपाको सुझाव रहेको बताउनुभयो ।

नगरको कार्यपालिकाबाट नयाँ भवन बनाउने र नगर विकास कोषबाट कर्जा लिने सम्बन्धी निर्णय भइसकेको छ । तर, अस्थायी घरटहरा बनाएर गुजारा चलाइरहेका स्थानीयबासीले भने नगरपालिकाले जबर्जस्ती हटाउन खोजेको भन्दै विमति जनाएका छन् ।

विर्तामोड नगरपालिकाले वडा नं. ५ मा रहेको २१ कठ्ठा क्षेत्रफलको सो हटियामा रहेको सबै घरटहरा हटाएर बहुतले आधुनिक व्यापारिक भवन बनाउने तयारी गरेको छ । जसका लागि पहिलो चरणमा त्यहाँ घरटहरा बनाएर व्यापार गरिरहेकाहरुलाई नगरले हटाउन लागेको हो ।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले अस्थायी संरचना हटाएर सो स्थानमा आधुनिक बहुतले व्यापारिक भवन बनाउने योजनामा नगरपालिका अघि बढिसकेको बताउनुभयो । 

यही वैशाख ४ गते नगरपालिकाले तेस्रोपटक सार्वजनिक सूचना प्रकाशित गरेर त्यहाँका सम्पूर्ण घरटहरा खाली गर्न दश दिने म्याद जारी गरेको छ । म्यादभित्र नहटाइएमा नगरपालिका आफैले बल प्रयोग गरेर ठाउँ खाली गराउने नगरको चेतावनी छ ।

“बुधबारे हटिया खाली गरिदिन सूचना जारी गरिसकेका छौं,” प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो–“अन्यथा कानून बमोजिम सम्पूर्ण घरटहरा हटाउनेछौं र त्यसमा लागेको खर्च समेत सम्बन्धित व्यक्तिहरुबाटै असुल्नेछौं ।” उहाँले कुनै धनमाल क्षति हुन गएमा नगरपालिका जवाफदेही नहुने बताउनुभयो ।

सो स्थानमा डेढ सय जति घरटहरा रहेको अनुमान छ । कुनै मध्यमार्गी सहमतिको बाटो ननिस्किएमा सो हटियामा नगरपालिकाको डोजर लाग्ने त्रास बढेको छ ।