२२ वैशाख २०८१, शनिवार

विद्युत आपूर्ति नियमित नभए आन्दोलन गर्छौं : प्रसाई (हेर्नुहोस् भिडियो पनि)

११ वैशाख २०८०, सोमवार
Image

मेचीनगर, ११ वैशाख । मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले विद्युत आपूर्ति नियमित नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मेचीनगर क्षेत्रमा दिनहुँ विद्युत आपूर्ति अनियमित हुन थालेपछि संघको प्रतिनिधिमण्डलसहित आज नेपाल विद्युत प्राधिकरणको धुलाबारी शाखा कार्यालयमा पुगेर प्रसाईले उक्त चेतावनी दिनु भएको हो ।

मेचीनगर क्षेत्रमा अघोषित लोडसेडिङ भइरहेको दावी गर्दै संघका अध्यक्ष खेम प्रसाईले यसबाट उद्योग व्यवसायको क्षेत्रमा ठूलो क्षति पुगिरहेको बताउनुभयो ।

उहाँकै नेतृत्वमा संघको प्रतिनिधिमण्डलले प्राधिकरणलाई माग पत्र बुझाएको हो । मेचीनगर क्षेत्रको विद्युत वितरण प्रणालीलाई व्यवस्थित गरी आपूर्ति नियमित गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

उहाँले विद्युत नियमित हुनुपर्ने माग गरिरहेका व्यवसायीहरुलाई प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले राजनीति गरेको आरोप लगाउनु भएको भन्दै आपत्ति समेत गर्नुभयो । 

बारम्बार विद्युत जाने र भोल्टेज घटेर धिपधिप गर्ने समस्याले व्यवसायमा गम्भीर असर पुगेको संघका महासचिव दिनेश शाक्यले बताउनुभयो ।

संघले बुझाएको ज्ञापन पत्र नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाका निमित्त प्रमुख ज्ञान काफ्लेले ग्रहण गर्नु भएको थियो ।

उहाँले विद्युत आपूर्ति नियमित गर्ने प्रयास भइरहेको आश्वासन दिनुभयो । केन्द्रीय प्रणालीमा आएको समस्याका कारण यस्तो भएको उहाँको प्रष्टिकरण थियो ।

उहाँले मेचीनगर क्षेत्रमा विद्युत वितरण प्रणालीलाई व्यवस्थित गर्न धुलाबारी सबस्टेसनमा १६ एमभीए क्षमताको ट्रान्सफर्मर जडान भइरहेको जानकारी दिनुभयो । मेचीनगरको ज्यामिरगढीस्थित औद्योगिक क्षेत्रका लागि धुलाबारी फिडरबाट नौ किलोमिटरसम्म बेग्लै प्रशारण लाइनमार्फत विद्युत वितरणको काम धमाधम भइरहेको समेत उहाँले बताउनुभयो ।