१४ वैशाख २०८१, शुक्रवार

मेउबा संघको सम्मान

तीनजना पूर्व अध्यक्ष र महिला उपाध्यक्ष सम्मानित

१२ वैशाख २०८०, मङ्गलवार
Image

धुलाबारी, १२ वैशाख । मेची उद्योग बाणिज्य संघले तीनजना पूर्व अध्यक्ष र एकजना महिला उपाध्यक्षलाई सम्मान गरेको छ ।

आज संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, कोशी प्रदेश सदस्यमा निर्वाचित निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, आठ महिनाअघि अखिल नेपाल फुटबल महासंघ (एन्फा)को अध्यक्ष निर्वाचित पूर्व अध्यक्ष पंकजविक्रम नेम्बाङलाई स्वागत तथा सम्मान गरेको हो ।

त्यस्तै कोशी प्रदेको सामाजिक विकास मन्त्रालयले यही बैशाख ६ गते सफल उद्यमी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीलाई ५० हजार नगदसहित उत्कृट महिला उद्यमीको रुपमा सम्मान गरेको थियो । संघले उपाध्यक्ष भण्डारीलाई पनि सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी राष्ट्रिय अर्थतन्त्रको सही व्यवस्थापन नहुँदा आयात बढी र निर्यात कम भइरहेको बताए ।

‘कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सकेनौँ’, मेयर बुढाथोकीले भने–‘भारतसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ । भारतीय कृषिजन्य वस्तुमा रोक लगाउन पनि सकिन्दैन । व्यवसायिक कृषि गर्ने नाममा उत्पादन गरेका वस्तु सडकमा फालेर व्यवसायी टाट पल्टिए ।’

उनले क्रियाशिल निजी क्षेत्रका व्यवसायीहरुसँग बसेर नगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा मेचीनगरका मेयर बुढाथोकी, पूर्व मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल उप्रेती, नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतले नेपाल, भारत, भुटान र बंगलादेश बीचको व्यापारलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।