६ वैशाख २०८१, बिहिवार

मुख्यमन्त्री कप

पुरुष भलिबलमा गण्डकी विजयी

१५ वैशाख २०८०, शुक्रवार
Image

झापा, १५ बैशाख । दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेस्रो खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेल मैदानमा भएको खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई सोझो सेटमा हराएको हो । हारसँगै मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

गण्डकीले मधेसलाई ७–२५, १५–२५ र १८–२६ को सोझो सेटमा हराएको हो । जितसँगै गण्डकी प्रदेशले सेमिफाइनल प्रवेशका लागि आज साँझ लुम्बिनी प्रदेशको सामना गर्नेछ ।

लुम्बिनीले विहीबार दोस्रो खेलमा मधेश प्रदेशलाई सोझो सेटमै हराएको नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काले बताए । गण्डकी र लुम्बिनीबीचको विजेताले सुदूरपश्चिम प्रदेशसँग दोस्रो सेमिफाइनल खेल्नेछ । हार्ने प्रदेशले कोशी प्रदेशको सामना गर्नेछ ।

पाँच प्रदेशको सहभागिता रहेको प्रतियोगितामा लुम्बिनी, मधेश र गण्डकी प्रदेश समूह क मा छन् भने कोशी र सुदूरपश्चिम प्रदेश समूह ख मा छन् । कर्णाली र बाग्मती प्रदेश भने आन्तरिक विवादका कारण प्रतियोगितामा सहभागी छैनन् ।

प्रतियोगिताको विजेताले नगद तीन लाखसहित ट्रफी, मेडल पाउनेछ भने उपविजेताले एक लाख ५० हजार ट्रफी, मेडल प्राप्त गर्ने बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले नगद २५ हजार पाउनेछ । त्यस्तै, उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिब्रो र सर्भर तथा प्रशिक्षकले समान १० हजार पाउने वाग्लेले बताए ।