८ वैशाख २०८१, शनिवार

पार्क हटाउन अख्तियारको पत्र

पार्क हटाउन आए प्रतिकार गर्ने स्थानीयको चेतावनी

१६ वैशाख २०८०, शनिवार
Image


चेप्टी(इलाम), १६ बैशाख । इलामको माई नगरपालिका–२, चेप्टीमा सञ्चालित ‘हेप्पी ड्रिम्स् चेप्टी’ फन पार्कले ओगटेको सार्वजनिक जग्गा ३५ दिनभित्र खाली गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएपछि त्यसका सञ्चालक र स्थानीय आक्रोसित बनेका छन् ।

शुक्रबार फन पार्कका सञ्चालक दिनेश शिवाकोटीले पत्रकार सम्मेलन गरेर फन पार्क भएको जमिन बन क्षेत्रको नभएको र अख्तियारले भने जस्तो क्षेत्र पनि नभएको दावी गरेका छन् । 

‘सवै प्रक्रिया पूरा गरेर फन पार्क सञ्चालन गरेको छु’, शिवाकोटीले भने–‘आफ्नो जग्गामा पार्क निर्माण गर्दा आवश्यक पर्ने सम्बन्धित निकायबाट अनुमति लिए । व्यक्तिगत फाइदा मात्र नहेरी सो ठाउँको विकासलाई ध्यानमा राखेर आफुले ४० करोड लगानी गरेको छु । अख्तियारले जमिन खाली गराउन दिएको निर्देशनप्रति खेद व्यक्त गर्दछु ।’ 

२ सय रोपनीमा फैलिएको हेप्पी ड्रिम्प्स चेप्टी प्रालिले निर्माण गरेको पार्कको जमिन पर्ती र सामुदायिक वनको रहेको भन्दै अख्तियारले खाली गराउन  निर्देशन दिएको छ । 

पार्कले ओगटेको १ सय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सामुदायिक वनको रहेको आयोगले ठहर गरेको छ । 

बाँकी ४१ रोपनी मात्र प्रालिको स्वामित्वमा देखिएकाले पर्ती र माइखोलाको तथा वनको जमिन खाली गराइ वन क्षेत्र कायम गर्नसमेत अख्तियारको निर्देशन छ । फन पार्कले सामुदायिक वनको जमिन ओगटेको भन्दै २०७८ माघ ६ मा अख्तियारमा उजुरी परेको थियो ।

सञ्चालक शिवाकोटीले फन पार्क सञ्चालनसँगै आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेको, बाटोको सुविधा, स्थानीयलाई रोजगारी, जग्गाको मूल्यबृद्धि लगायतमा समेत प्रभाव परेको बताए । 

उनले माई नगरपालिकाभित्र ८० प्रतिशत जमिन ऐलानी र २० प्रतिशत जग्गा मात्र नम्बरी रहेको बताउँदै उक्त ऐलानी जग्गा स्थानीयले बर्षौदेखि भोगचलन गर्दै आएको दावी गरेका छन् । 

स्थानीयले कालापानी जस्तो उजाड ठाउँलाई सञ्चालक शिवाकोटीले विकासको मुहार फेरिदिएकोमा प्रसंसा गर्दै पार्क हटाउन जोकोहि आए प्रतिकार गर्ने चेतावनी दिएका छन् । अहिले यहाँ बाटो बनेको छ, विजुली–पानी आएको छ, रोजगारी पाएका छौँँ, विकासले गति लिएको छ, त्यसकारण कुनैपनि हालतमा पार्क हटाउन नदिने उनीहरुको भनाई छ ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।