१४ वैशाख २०८१, शुक्रवार

हाम्रो झापा, राम्रो झापा

द्वन्द्वले उजाडिएको ‘महेन्द्र पार्क’ फेरि हराभरा हुँदै

१९ वैशाख २०८०, मङ्गलवार
Image

झापा, १९ बैशाख । झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने हरेक आगन्तुकले त्यहाँको सौन्दर्यको तारिफ नै गर्छन् । फुलिरहेको रंगिविरंगी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले घुमफिर गर्न जानेको ध्यान तानिरहेको हुन्छ ।

भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कठ्ठा १० धुर जग्गामा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको संख्या दिनहुँ बढिरहेको छ । भद्रपुर नगरपालिकाले यसको पुनरुत्थान थालेको हो ।

वि.सं. २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्यटक लोभ्याउने सौन्दर्य पार्क थियो यो । राजनीतिक द्वन्द्वको कारण सरकारी चरम उपेक्षाको शिकार बनेको यो रमणीय स्थल विस्तारै उजाड बन्न पुग्यो । 

पार्कको बीचमा शाहबंशीय राजा महेन्द्रको पूर्णकदको शालिक रहेको कारण यो पर्यटकीय स्थलले राजनीतिक द्वन्द्व व्यहोर्नु पर्यो । २०४६ सालपछि २०६२/०६३ को जनान्दोलनसम्मको डेढ दशक अवधिसम्म पार्क वेवारिसे झैं बन्यो । पार्कभित्रका फुलका बगैंचा र भौतिक संरचनाहरु बेस्याहार थिए । वर्षौसम्म पार्कको ढोका नै खोलिएन ।

वि.सं. २०६२÷०६३ को जनान्दोलनमा पार्ककै छेउमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच भीषण झडप हुँदा सुरज विश्वास र राजन गिरीले सहादत प्राप्त गर्नुभएको थियो । आन्दोलनकै क्रममा पार्कभित्र पसेर राजा महेन्द्रको शालिक भत्काइयो र राजाको गुणगान गरिएका शिलालेखहरु धुस्नो बनाइयो ।

एउटा सुन्दर पार्क हेर्दाहेर्दै भग्नावशेषमा परिणत हुन थालेपछि स्थानीयबासी र आम सञ्चारमाध्यमहरुले पार्कको जिर्णोद्धार हुनुपर्ने आवाज उठाउन थाले । जनआवाजको कदर गर्दै भद्रपुर नगरपालिकाले विगत चार वर्षदेखि यसको जिर्णोद्धार र सौन्दर्यकरणमा ध्यान दिन थालेको छ ।

चालू आर्थिक वर्ष २०७९÷०८० मा भद्रपुर नगरपालिकाको वडा नं. ८ ले महेन्द्र पार्कको पुनःनिर्माण र जिर्णोद्धारका लागि रु. १० लाख बजेट बिनियोजन गरेको वडाध्यक्ष गौरव सुब्बा बताउनुहुन्छ । राजनीतिक विवादभन्दा माथि उठेर सार्वजनिक स्थलहरुको जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका आधारमा वडा कार्यालयले पार्कलाई परिष्कृत र अझ बढी सौन्दर्यकरण गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

“यो साल रु. १० लाख बजेट छुट्यायौं,” वडाध्यक्ष सुब्बाले भन्नुभयो–“आउँदो आर्थिक वर्षमा अझ धेरै बजेट छुट्याएर महेन्द्र पार्कलाई पहिलेको भन्दा राम्रो पर्यटकीय स्थल बनाउने हाम्रो योजना छ ।” पार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी भद्रपुर नगरपालिकाले लिएको जनाउँदै उहाँले अब कुनै हालतमा पार्कलाई वेवारिसे बन्न नदिइने बताउनुभयो ।

पालिकाको बजेटले हाल पार्कको वरिपरिको पर्खाल र भौतिक संरचनाहरुको रंगरोगन गरिएको छ । कलात्मक मूल प्रवेशद्वार, शालिक राखिएको पुरानो स्तम्भ, पानीको फोहोरा रहेको नहर, बिजुलीका खम्बा लगायतका भौतिक संरचना नयाँ रंगले उज्यालिएका छन् ।

पार्कभित्र बालबालिकालाई मनोरञ्जनका लागि पिङ, चिप्लेटी, चाकाचुली लगायतका खेल सामग्रीहरु राख्ने र पुराना थोत्रिएका सामान हटाएर नयाँ राख्ने काम धमाधम भइरहेको छ । पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फुलबारीमा नयाँ फुल रोप्ने, पुराना गोड्ने र झारपात फालेर चिटिक्क बनाउने कार्यमा नगरपालिकाले कर्मचारीहरु परिचालन गर्दै आएको छ ।

दुर्लभ मानिएको क्यामेलियाको विभिन्न फुल र बोन्साइका पोथ्रा रुखले पार्कको आकर्षण बढाएका छन् । पर्यटक डुल्ने फुटपाथ र गोरेटो वरिपरि हरियाली फुलका झ्याँङ हुर्काइएका छन् ।

रंगरोगन गर्ने, बगैचामा माटो भर्ने लगायतका काम गर्न धनजुजु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । समितिले नियमित रुपमा पार्कको जिर्णोद्धार कार्य अघि बढाइरहेको छ । 

आगामी एक महिनाभित्र महेन्द्र पार्कले काचुली फेरिसक्ने पार्कका माली अमृत थापाले बताउनुभयो । फुलका विरुवा कहाँ कसरी रोप्ने र हुर्किएका बोन्साई, धुपी, सल्लो लगायतका बोटका हाँगाबिगा कसरी छिमलेर सौन्दर्य बढाउने भनेर दिनभर काममा समर्पित भएर लागिरहेको बताउनुहुन्छ माली थापा । उहाँसँग संयुक्त अरब इमिरेट्सको प्रसिद्ध बगैंचामा मालीको काम गरेको अनुभव रहेको छ ।

पार्कको इतिहास

यो पार्क वि.सं.२०२८ मा तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिङ लामाले निर्माण गर्न लगाएका थिए । राजतन्त्रको पक्षपोषण गर्ने उद्देश्यले पार्कको नामाकरण तत्कालीन राजा महेन्द्र शाहको नामबाट गरिएको थियो । काठमाडौंमा रत्न पार्क नामाकरण गरिए झैं यहाँको पार्कको नाम महेन्द्र पार्क राखियो ।

झापा सदरमुकामको मध्यभागमा निर्माण भएको पार्कको बीच भागमा ३० फिट अग्लो कलात्मक स्तम्भ निर्माण गरेर त्यसमाथि राजा महेन्द्रको पूर्णकदको शालिक राखिएको थियो ।

पार्कको वरिपरिको पर्खाल र मूल प्रवेशद्वारलाई कलाकौशलले सिगारिएको थियो । दक्षिणतर्फ रहेको प्रवेशद्वारमा  आकर्षक कलाकृति कुँदिएको छ भने मूलद्वारको सिरानमा ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने अक्षर कुँदिएको छ ।

सालिक भत्काइएपछि अहिले त्यहाँ भग्नावशेष बाँकी छ । जसमा नगरपालिकाले राष्ट्रिय झण्डा फहराएको छ । स्तम्भको फेँदमा सिंह, हात्ती, घोडा, माछा, मयुरको कलात्मक मूर्ति कुँदिएको छ । स्तम्भ वरिपरि पानीको फोहोरा निस्कने पूर्वाधार निर्माण भएको छ । अहिले पानीको आपूर्ति र पाइपलाइन बिग्रिएको कारण फोहोरा अवरुद्ध छ ।

वि.सं. २०७४ मा स्थानीय तहको निर्माचन भएपछि भद्रपुर नगरपालिकामा पहिलो नगरप्रमुख बनेर आउनु भएको जीवनकुमार श्रेष्ठले पुरानो पार्कलाई नयाँ अवधारणाका साथ सञ्चालनमा ल्याउन रु. १० लाख बजेट बिनियोजन गर्नुभएको थियो । त्यसअघि राजनीतिक द्वन्द्वका कारण नगरपालिकाले पार्कमा ध्यान दिन सकेको थिएन ।

“अब हामी पार्कको नाम के हुनुपर्छ के हुनुपर्दैन भन्ने विवादमा अलमल गर्दैनौं,” पार्कको जिर्णोद्धार गरेर पर्यटकीय स्थलको रुपमा पुनरुत्थान गर्ने अभियानको नेतृत्व गरिरहनु भएको भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा भन्नुहुन्छ–“निकट बिगतमा झापाकै सबैभन्दा उत्कृष्ट मानिएको पार्क हो यो । यसलाई अझ बढी आकर्षक र विश्वस्तरीय बनाएर नगरको सौन्दर्य र पर्यटकीय विकास गर्न हामी दिल खोलेर लाग्नेछौं ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।